सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

२०७८ चैत २० आइतबार ०९:३६:०० मा प्रकाशित

कर्णाली । सुर्खेतका नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यहाँका ९६ हजार ४६७ बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइयो ।

कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइनेछ ।

उनले सुर्खेतका सिम्ता गाउँपालिकाका सात हजार ८४१, चिडगाड गाउँपालिकाका पाँच हजार ९१५, लेकबेँसी नगरपालिकामा आठ हजार ३९७, गुर्भाकोट गाउँपालिकामा १२ हजार ९९७, भेरीगङ्गा नगरपालिकामा ११ हजार ८१९, वीरेन्द्रनगर नगरपालिकामा २२ हजार २३९, बराहताल गाउँपालिकामा सात हजार ८३५, पञ्चपुरी नगरपालिकामा १० हजार ६२६ र चौकुने गाउँपालिकामा आठ हजार ७९८ बालबालिकालाई खोप लगाइने जानकारी दिए ।

कार्यालय प्रमुख गौतमका अनुसार सुर्खेतमा एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने अनुमान गरिएको छ । नेपालमा १५ वर्षमुनिका बालबालिकामा सङ्क्रमण दर ११ गुणा बढी रहेको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी अमर राना मगरले जानकारी दिए ।

बालबालिकामा सरसफाइ र स्वच्छताको कमी हुने भएकाले टाइफाइड रोगबाट बालबालिकामा सङ्क्रमण दर बढी भेटिने गरेको उनको भनाइ थियो ।

ताजा खबर