किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको युक्रेनको दाबी

२०७८ चैत २० आइतबार ०९:१७:०० मा प्रकाशित

युक्रेनले राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको बताएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभका सबै क्षेत्रमा आफ्नो पकड फिर्ता भएको युक्रेनको रक्षा मन्त्रालयले बताएको हो ।

रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल पनि छाडेका छन् । रुसी सेनाले होस्टमेल विमानस्थललाई केन्द्र बनाएर किभमा आक्रमण गरिरहेको थियो । रुसी सेना किभ सहित युक्रेनको प्रमुख सहरहरुबाट फिर्ता हुन थालेको छ ।

टर्कीमा भएको प्रत्यक्ष वार्ता र त्यसपछि भएको भर्चुअल वार्तामा सहमतिका आधारहरु तयार हुन थालेकाले कारवाही घटाएर सेना फिर्ता गर्न थालेको रुसले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने रुसले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कव्जा गर्न चाहेको बताएका छन् । एउटा भिडियो सन्देशमा जेलेन्स्कीले किभबाट सेना पछि हटेपनि डोनबास तथा दक्षिण क्षेत्रमा कव्जा गर्न प्रयास हुनसक्ने भन्दै सतर्क रहनुपर्ने बताएका छन् ।

ताजा खबर