नेपाल र भारतका प्रधानमन्त्रीद्वारा सोलु करिडोर प्रसारण लाइनको उद्घाटन

२०७८ चैत १९ शनिबार १६:१५:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा १३२ किलोभोल्ट (केभी) क्षमताको सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गरेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि उनीहरुले श्रव्यदृश्यका माध्यमबाट उक्त प्रसारण लाइनको शनिबार उद्घाटन गरेका हुन् । अथक मिहिनेतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइन उद्घाटनपछि सोलु करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सहज भएको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए । सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको यसअघि नै परीक्षण गरिसकिएको छ ।

नेपाल सरकारको लगानी र भारतीय निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइन लामो विवाद, स्थानीयवासीको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्याका कारण धेरै जटिलता भोग्नु परेको थियो ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । यस्तै, प्रसारण लाइनमा टावरको सङ्ख्या ३०२ वटा छ । सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिङ्गलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिए क्षमताको सबस्टेशन निर्माण गरिएको छ ।

सबस्टेशन निर्माण सम्पन्न गरी २०७६ भदौ ७ देखि सञ्चालनमा छ । तिङ्ला सबस्टेशनबाटै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा विद्युत् आपूर्ति भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ठेकेदार छनोट देखिएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रूट परिवर्तन गर्न माग गर्दै स्थानीयवासीबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएकोे थियो ।

सोलु नदी जलाधार क्षेत्रमा निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । बर्खाको समयमा पूर्ण क्षमतामा चल्न नसकेको २३।५ मेगावाटको सोलु खोला र अन्य निर्माणाधीन जलविद्युत् आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधानमा प्रसारण लाइनको निर्माणपछि सहज भएको छ ।

ती आयोजनाको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्लामा स्वदेशी उत्पादनबाट आपूर्ति दिन सकिने र बढी भएको विद्युत् ढल्केबर सबस्टेशनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुने प्राधिकरणले जनाएको छ ।

तिङ्ला सबस्टेशनबाट विद्युत् आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्नेछ । कूल २३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत् आयोजनाको विद्युत् तिङ्ला सबस्टेशनमा जोडिनेछ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता गरेको छ ।

सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् २०७७ को फागुनदेखि अस्थायीरुपमा ३३ केभी लाइनमा जोडिएको थियो । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका–४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो ।

सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको तथा यसबाट पाठ सिक्दै अन्य आयोजना निर्माण गरिनुपर्ने आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोजदेखि कार्यान्वयनमा आएको थियो ।

ताजा खबर