नेपालद्वारा मलेसिया ८५ रनले पराजित

२०७८ चैत १९ शनिबार १६:११:०० मा प्रकाशित

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ । नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयो । मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए ।

बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिए । यस्तै कुशल भुर्तेल र रोहित पौडेलले एक÷एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चौकाको मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै रोहित पौडेलले ५१ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।

आजको खेलमा मलेसिया पराजित भएसँगै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेको छ । मलेसिया र पीएनजीको समान दुई अङ्क रहे पनि नेट रनरेटको आधारमा पीएनजी फाइनलमा पुगेको हो । नेपाल भने यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आगामी सोमबार हुनेछ ।
 

ताजा खबर