ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको सुझाव

२०७८ चैत १९ शनिबार १५:३८:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्सपो सुरु भएको छ । एक्सपोको शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको हो ।

एक्सपो तीन दिनसम्म सञ्चालन हुने बताइएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको दिशामा केन्द्रित भएकामा राष्ट्रपतिले खुसी व्यक्त गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने दिशामा केन्द्रित हुनसमेत आग्रह गरिन् । राष्ट्रपतिले जनसहभागितामा जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेकामा प्रसन्नता व्यक्त गरिन् । अझै पनि देशका विभिन्न स्थानका नागरिकले बिजुली बाल्न नपाएको तथ्य पेस गर्दै उनले हरेक घर र भान्छामा बिजुली पुग्ने वातावरण बनाउन सबैको सार्थक पहल आवश्यक रहेको बताइन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले देशको ऊर्जा क्षेत्रको विकासका लागि नयाँ अवसरको खोजी, प्रविधिको प्रयोग तथा लगानी आकर्षित गर्ने लक्ष्यका साथ एक्सपोको आयोजना गरिएको जानकारी दिए । एक्स्पोको उद्घाटन पूर्वबृहद् विद्युतीय सवारी र्याली पनि आयोजना गरिएको थियो ।

देशकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषय वस्तुमा तीनै दिन विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञका बीचमा छलफल गर्ने कार्यक्रम तय भएको सो अवसरमा जानकारी दिइयो ।

ताजा खबर