सीमा समस्या समाधान गर्न भारतलाई नेपालको आग्रह

२०७८ चैत १९ शनिबार १४:४०:०० मा प्रकाशित

काठमाडौं । भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थापित संयन्त्रबाट सीमा समस्या समाधान गर्न मोदीलाई आग्रह गरेको जानकारी दिएका हुन् । देउवाले भने, ‘हामीले सीमाका सवालहरूमा छलफल गर्यौँ र मैले मोदीजीलाई त्यसलाई स्थापित दुईपक्षीय संयन्त्रहरूबाट हल गरौँ भनेर अनुरोध गरेँ।’

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले दिल्लीमा शनिवार भेटवार्ता गरेपछि दुवैजनाले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका थिए । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीसँग मित्रवत र सार्थक छलफल भएको उल्लेख गर्दै भारतको आर्थिक रुपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको बताए ।

नेपालले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरहुँदै हवाई रुट उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिदैँ प्रधानमन्त्री देउवाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि पनि सहयोग गर्न अनुरोध गरिएको जानकारी दिए ।

महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मल निर्यात गर्ने सम्बन्धी केही समय पहिले भएको समझदारीको कार्यान्वयनबारे पनि छलफल भएको उनले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीले खुला सीमाका कारण अवाञ्छित तत्वले नेपाल भारत सीमाको दुरुपयोग नगरुन् भन्नेबारे छलफल भएको बताए ।

त्यसका लागि दुवै देशले प्रतिरक्षा र सुरक्षामा गहन सहयोग कायम गर्ने विषयमा जोड दिएको उनले जानकारी दिए । दुवै पक्ष सडक र रेल जस्ता सम्पर्क सञ्जाल सम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको उनको भनाइ छ । मोदीले नेपाली प्रधानमन्त्रीसँग आपसी सहयोगका विभिन्न क्षेत्र, विभिन्न परियोजनामा भएको प्रगति र भविष्यको रुपरेखाका बारेमा पनि छलफल गरेको बताए ।

उनले भारतले नेपाललाई सुख दुखको साथीका रूपमा हेरेको भन्दै नेपालप्रति आफ्नो मुलुकले सधैँ आत्मीयता प्रेरित भावना राख्ने बताए । उनले नेपालसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयलाई दुवै देशले उच्च प्राथमिकता दिने समझदारी गरेको भन्दै संयुक्त भिजन स्टेटमेन्ट ल्याउने सहमति भएको बताए ।

लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम तेज गतिमा अघि बढ्ने भन्दै उनले उक्त परियोजनाले दुई देशको सम्बन्धमा महत्वपूर्ण प्रभाव पार्ने बताए।

ताजा खबर