श्रीलङ्कामा सङ्कटकाल घोषणा

२०७८ चैत १९ शनिबार १०:२६:०० मा प्रकाशित

श्रीलङ्कामा राष्ट्रव्यापी सङ्कटकाल घोषणा भएको छ । राष्ट्रपतिको निवासबाहिर भएको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको एक दिनपछि सङ्कटकाल घोषणा गरिएको हो । बिहीबार कोलम्बोस्थित राष्ट्रपति गोटबय राजपक्षको निजी निवास नजिकै प्रदर्शनकारीहरूले छेकबारहरू भत्काएका र सवारीसाधनहरूमा आगो लगाएका थिए ।

अहिले त्यहाँ सेनालाई तैनाथ गरिएको छ र आरोपितहरूलाई पक्राउ पुर्जीबिना पक्राउ गर्ने अधिकार दिइएको छ । श्रीलङ्का ठूलो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ। यो केही हदमा चरम विदेशी मुद्रा अभावका कारण निम्तिएको अवस्था हो, जसलाई इन्धन आयातको भुक्तानीका लागि प्रयोग गरिन्थ्यो ।

दैनिक १२ घण्टाभन्दा बढी हुने विद्युत् कटौती, इन्धन र अत्यावश्यक खाद्यान्न तथा औषधिको अभावका कारण २ करोडभन्दा बढी जनसङ्ख्या भएको श्रीलङ्कामा आम मानिसको आक्रोश उच्च विन्दुमा पुगेको छ। सन् २०१९ मा बहुमत प्राप्त गरी सत्तामा पुगेका राजापक्षले देशमा स्थायित्वको प्रतिबद्धता जनाएका थिए। तर, जारी प्रदर्शनले उनको लोकप्रियतामा ठूलो परिवर्तन भएको सङ्केत गर्छ।

ताजा खबर