हिमाल आरोहणका लागि २२ आरोही समूहलाई अनुमति

२०७८ चैत १९ शनिबार ०८:५६:०० मा प्रकाशित

काठमाडौं । सन् २०२२ को वसन्तयामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार ३१ मार्चसम्म २२ आरोहण दललाई आरोहण अनुमति जारी भएको छ ।

यसमा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै पाँच समूहले अनुमति लिएका छन् । अन्नपूर्ण (८०९१ मि) आरोहणका लागि चार, अमादब्लम (६८१४ मिटर) मा एक, ल्होत्से (८५१६ मिटर) मा एक, कञ्चनजङ्घा (८५८६ मिटर) मा एक, धौलागिरि (८१६७ मिटर) आरोहणका लागि एक आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

त्यसैगरी मिलुङ्ग चुलीका लागि दुई, नुप्सेका लागि दुई, भेम्दोङ्ग, गङ्गापुर्न र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सबै हिमाल तथा पिक गरेर २२ टिमका ३७ महिला र ११६ पुरुष गरी कूल १५३ आरोही आरोहणमा निस्किएका हुन् । ति हिमाल तथा पिक आरोहणबाट पाँच करोड ६१ लाख ४४ ५५० रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।

ताजा खबर