ओलीको प्रश्नः कहाँ छन् राजा र राजासँग मिल्नु ?

२०७८ चैत १८ शुक्रबार १९:१६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको चुनाव केन्द्रित भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री आउनेबित्तिकै यतिबेरै किन भारत भ्रमणमा जानु भो भनेर आफूले प्रश्न सोध्ने बताए । ओलीले आगामी निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई आग्रह गरे ।

पाँच दलीय गठबन्धन केजीेको ढक भएको र आफ्नो पार्टी क्वीन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उनको तर्क थियो । अध्यक्ष ओलीले माधव नेपालप्रति संकेत गर्दै हुँदै नभएको राजासँग मिल्छ भनेर बुद्धि नभएकाहरुले आफूलाई आरोप लगाएको बताए ।

उनले राजाको पाउमा दाम चढाएर माधव नेपालले ढोगेको आफूले सम्झना मात्रै गराउन चाहेको उल्लेख गर्दै आफू भने कुनै पनि शासकको पाउमा नपर्ने बताए ।

उनले भने, ‘एउटा गठबन्धनवालाले अस्ती भनेको मैले सुने–अब केपी ओली राजासँग मिल्छ, कहाँ छ राजा र मिल्छ केपी ओली हँ ? कहाँ छ ? कहाँ छ राजा र राजासँग मिल्छ ? कस्तो बुद्धि यिनीहरुको । कस्तो मानसिकता यिनीहरुको । राजासँग मिल्छ रे केपी ओली । अर्को म सम्झाउन चाहन्छु–वरिपरी परिक्रम गरेर पाउमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होइन । केपी ओलीले विद्याथी भाइबहिनीहरुको पाउमा पर्न चाहन्छु तर कुनै पनि शासकहरुको पाउमा पर्दिन ।’

ओलीले काँग्रेसले भारतीय सेना भित्र्याएर देशभक्त नेपालीहरुको टाउको कटाएको आरोप समेत लगाए । तत्कालीन काँग्रेस सरकारले भिमदत्त पन्तको भारतीय सेना लगाएर टाउको कटाएर हत्या गरेको उनले दाबी गरे ।

काँग्रेसले अतितमा गरेको त्यस्तो नराम्रो कुरा भन्न आफूलाई अप्ठ्यारो लाग्ने गरेपनि सत्य त्यही भएको ओलीको भनाई थियो । ओलीले काँग्रेसले जहिले पनि थोत्रा र पत्रुहरुसँग मात्रै मिल्ने गरेको बताए । उनले भने, ‘काँग्रेसले जहिले पनि थोत्रा र पत्रुहरुसँग मात्रै एकता गर्छ । विग्रेका, सडेका, विकाउमाल घाँटी जोडने काँग्रेसको जात नै हो ।’

ताजा खबर