प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकामा कर्फ्यु

२०७८ चैत १८ शुक्रबार ०९:५२:०० मा प्रकाशित

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको कोलम्बोमा बिहीवार राति हिंसा फैलिएपछि कर्फ्युको आदेश जारी गरिएको छ । कोलम्बोका केही भागमा प्रदर्शनकारी सडकमा हिंसात्मक गतिविधिमा उत्रिएपछि रातिदेखि कर्फ्यु लगाइएको कोलम्बो टाइम्सले जनाएको छ ।

हिंसा भड्किएपछि कोलम्बो नर्थ, कोलम्बो साउथ, कोलम्बो सेन्ट्रल, नुगेगोडा, केल्यानिया र माउन्ट लाभिनिया क्षेत्रमा कर्फ्यू लगाइएको हो । श्रीलंकका राष्ट्रपति गोटाबाया राजपाक्षेको निवास जाने बाटोलाई प्रदर्शनकारीहरुले बन्द गराएका छन् ।

आर्थिक संकटको मुद्दालाई लिएर भएको राजनीतिले मुलुक थप संकटतिर धकेलिँदैछ। प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहराले तितरवितर पारेको थियो ।

आन्दोलनकारीहरो मुख्य असन्तोष १६ घन्टा लामो समयसम्म विद्युत काटिनु, खाना पकाउने ग्यासको अभाव हुनु, पेट्रोल, डिजेल र मट्टीतेल उपलब्ध नहुनु, अत्यावश्यक खाद्यान्नको अभाव र चर्को मूल्यवृद्धिले गराएको छ । खुद्रा बजारमा अघिल्लो वर्षको तुलनामा १८.७ प्रतिशतले महँगी बढेको छ। खाद्यान्नको मूल्य ३०.२ प्रतिशत बढेको छ।

ताजा खबर