पोखरामा नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने

२०७८ चैत १७ बिहीबार २३:३३:०० मा प्रकाशित

गण्डकी । आगामी चैत २३ गतेदेखि २५ गतेसम्म अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको छाता संस्था (एफएआई)बाट मान्यता प्राप्त नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २०औँ संस्करण हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)द्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी थालिएको जानकारी गराइयो ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक बलराम आचार्यले जानकारी दिए । एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वल्र्डकप तथा प्रि–वल्र्डकप र पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागिसमेत प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार विधामा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

त्यसैगरी प्रतिस्पर्धाअन्तर्गत ल्याण्डिङ ओभरअलको प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फ भने सो विद्याअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन् ।

अन्य विधातर्फको एक्युरेसी टेन्डम पुरुषअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन् भने एयर शोतर्फ वेष्ट एक्रोबेटिक शोतर्फ प्रथम हुनेले नगद १५ हजार, दोस्रोले नगद १० हजार र तेस्रोे हुनेले नगद पाँच हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् ।

त्यसैगरी वेष्ट कस्टुयुमतर्फ पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा वेष्ट कस्टुयुमतर्फ नगद १० हजार प्रदान गरिनेछ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित प्रतियोगिता यसवर्ष सञ्चालन हुन लागेको र प्रतियोगितामा महिला र पुरुष गरी करिब १०० जना खेलाडीको सहभागिता रहने नेपाल हवाई खेलकुद संस्था(ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार पोखरामा व्यावसायिकरूपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ५०० को हाराहारीमा प्याराग्लाइडिङ पाइलटहरू छन् । कोरोनाका कारण प्रभावित पर्यटनलाई अघि बढाउन प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिता निर्णायक समितिका संयोजक योगेश भट्टराई, सह संयोजक अनिल केसी, नेपाल पर्यटन बोर्डका प्रबन्धक नवीन पोखरेल, संस्थाका सचिव माधव तिवारीलगायतले साहसिक खेल र यसले पर्यटनमा पार्ने प्रभावलगायतमा बोलेका थिए ।
 

ताजा खबर