तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने सरकारको निर्णय

२०७८ चैत १७ बिहीबार ११:३५:०० मा प्रकाशित

काठमाडौँ। सरकारले तेजाब आक्रमणविरुद्ध र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेजाब आक्रमणविरुद्ध र यौनहिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको हो ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको अध्यादेश जारी गरेको थियो । तर सरकारले बेलैमा प्रतिस्थापन विधेयक नल्याएका कारण ती अध्यादेश निष्क्रिय भएका थिए ।

त्यसैगरी बैठकले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो ।

गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले चैत १ मा डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।

ताजा खबर