दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सरकारको स्वीकृति

२०७८ चैत १६ बुधबार ०७:४२:०० मा प्रकाशित

काठमाडौं । सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणका लागि अनुमति दिइएको हो ।

न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ कूल २० किलोमिटर र भारततर्फ कूल १२० किलोमिटर गरी १४० किलोमिटर लामो रहको छ । नेपालबाट विद्युत् भारत निर्यातका लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइन निर्माणका लागि २०७५ असोज २७ र २८ गते भारतको बैङ्गलोरमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले आवश्यक निर्णय गरेको थियो ।

बैठकमा नेपाल खण्डका लागि आवश्यक लगानी नेपाल सरकारले र भारतीय भूभागमा पर्ने संरचनाका लागि आवश्यक लगानी तथा कार्यान्वयनको हकमा समान ५०/५० प्रतिशत लगानी गर्ने सहमति भएको थियो । प्राधिकरण र भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको समान लगानीमा संयुक्त उपक्रमको कम्पनी स्थापना गर्ने तथा सो कम्पनी र प्राधिकरणबीच आवश्यक सम्झौता गर्ने निर्णय भएको थियो । आयोजनामा ऋण ८० प्रतिशत र स्वपूँजी अनुपात २० प्रतिशत रहने उल्लेख गरिएको थियो ।

यस्तै भारतीय क्षेत्रमा रहने प्रसारण लाइन २५ वर्षका लागि सम्पूर्ण क्यापासिटी बुकिङ प्राधिकरणले गर्ने उल्लेख छ । यस्तै केही समय पहिले दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले यही महिनाभित्रै संयुक्त कम्पनी स्थापना गर्ने सहमति गरेका थिए । नेपाल र भारतबीच विभिन्न ११ विन्दुबाट विद्युत् आयात तथा निर्यात हुँदै आएको भए पनि ठूलो क्षमताको प्रसारण लाइन भने एउटा मात्रै छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै ठूलो क्षमताको अर्थात् ४०० केभी क्षमताको हो ।

अन्य सबैजसो आयोजना ३३ केभीदेखि १३२ केभीसम्म छ । सरकारले सो प्रसारण लाइनलाई महत्वका साथ अगाडि बढाएको छ । वर्षाको समयमा बढी भएको बिजुली निर्यात तथा कम भएको बेला आयातका लागि ठूलो क्षमताको प्रसारण लाइन जरुरी छ । प्रसारण सञ्जालको निर्माणका लागि प्राधिकरणले महत्वका साथ गतिविधि अगाडि बढाइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कम क्षमताका प्रसारण लाइनमा बढी मात्रामा प्राविधिक चुहावट हुने भएकाले ठूला क्षमताका प्रसारण लाइन आवश्यक छ । सरकारको पछिल्लो निर्णयअनुसार अब प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडले एक आपसमा मिलेर संयुक्त कम्पनी स्थापना गर्नेछन् । सो कम्पनी स्थापना भए पनि दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्मााणको काम अगाडि बढ्नेछ ।

न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइन नाम दिइएको सो आयोजनामा काठमाडौँ, नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै जाने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनसमेत जोडिनेछ । सो प्रसारण लाइन अमेरिकी सहयोग परियोजना एमसिसीले अगाडि बढाउँदैछ । न्यू बुटवल सवस्टेशन समेत ४०० केभी क्षमतामा निर्माण हुनेछ ।

सो सवस्टेशनलाई नेपालको प्रसारण गुरुयोजनाअनुसार हब सवस्टेशनको नाम दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नेपाल भारत सीमादेखि भारतको गोरखपुरसम्मको प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त स्वामित्व रहने गरी भारतमा कम्पनी स्थापना गर्न तथा आयोजना निर्माणमा ५० प्रतिशत शेयर पूँजी रहने गरी बढीमा एक अर्बसम्मको स्वीकृति दिइएको छ ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम प्राधिकरणलाई स्वीकृति दिने निर्णय भएको ऊर्जा सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभएको छ । यसबाट नेपाल र भारतका बीचमा ऊर्जा आदानप्रदानका लागि महत्वपूर्ण योगदान पुग्नेछ ।
 

ताजा खबर