वीपीले वनारस छोड्ने दिन

२०७४ पौष १६ आइतबार १४:२०:०० मा प्रकाशित

अन्तिम समयसम्म पनि गणेशमान सिंह बीपीको विचारसँग सहमत  थिएनन् । बीपी पुत्र शशांक कोइराला भन्छन् ‘जुनदिन बीपी वावा वनारसवाट पटना जाँदै हुनुहुन्थ्यो । म विहान गणेशमानजीको कोठामा गएँ । उहाँ सामान मिलाउँदै हुनुहुन्थ्यो । घरमा हरहमेशा चल्ने राजनीतिक छलफल र पढ्ने, वस्ने छुट्टै बैठक कोठा नभएकाले म आफ्ना लागि सेपरेट रुम होस् भन्ने चाहन्थे । बीपी वावाले दिनभर मानिस भेट्ने गरेको बैठक कक्षमा राति पाहुना र परिवारका सदस्य हामी लहरै सुत्नुपर्ने । वेलुका ३ वजे सिरक वा कम्मल कव्जा गरेन भने राति जाडोमा सिउसिउ गरेर सुत्नु पर्ने अवस्था थियो । त्यो दिन गणेमशमानजीलाई सामान मिलाइ रहेको देखे पछि मैले सोधें । गणेशमानजी बीपीसँगै नेपाल जानु भयो भने उहाँको कोठा कव्जा गर्छु भन्ने मात्र ध्यान थियो मेरो । राजनीतिक कुरा त्यति राम्रो वुझ्दिन थिएँ । मैले सोधें– वावा नेपाल गएपछि तपार्इं वावाको कोठामा सर्ने हो गणेशमानजी । उहाँले भन्नुभयो – हैन हैन । हाम्रो नेता त्यही वाहुन हो । जति सम्झाए पनि मानेनन् । म पनि उसैसँग फर्किन लागेको ।’

भाचाकुखीको दही च्युरा

राजाले बीपीमाथि कस्तो व्यवहार गर्ने हुन् । मारि पो दिने हुन् की भनेर वुझ्न पुष १६ भन्दा केही दिन अघि केबी गुरुङ, धर्म गौतम र वासुदेव कोइराला जहाजवाट काठमाडौं फर्कन तयार भए । विदाईको अघिल्लो दिन नेताहरुसँगै खाना खाइरहँदा गणेशमान सिंहले सुनाएको राणाकालीन प्रथावारे धेरैलाई थाहा भएन । वुझ्नेहरु भने मुत्युको मुखैमा पुगेको कल्पना गर्न थाले । बीपी, गणेशमानजी, गिरिजावावु, नोना कोइराला सहित तीनजना खाना खाँदै थिए । एकाएक सन्नाटा छायो । एक अर्काको मुख हेराहेर भयो । फेरि भेट होला नहोला । यही नै अन्तिम भोज पो हुने हो की ? कांग्रेस नेता केबी गुरुङ सम्झन्छन्–‘गणेशमानजीले भन्नुभयो,  तपाईँहरुलाई यो ‘भाचाखुसी’ मा लगेर दही च्युरा खुवाए जस्तै हो । त्यो भनेको के भने राणाकालामा फाँसिको फन्दामा चढाउन ठिक्क पारिएको वन्दीलाई भाचाखुसीमा लगेर दहीच्युरा खुवाउने चलन थियो । त्यसरी दहीच्युरा खुवाउँदा फाँसी दिनेलाई पाप लाग्दैन भन्ने मान्यता थियो । उसलाई हामीले झुण्डाएको हैन । आफैं दहीच्युरा खाएर मरेको हो भन्ने मान्यता थियो ।’
भोलीपल्ट गुरुङ, गौतम र कोइराला फर्किन तयार भए । जहाज चढ्नु अघि तीनै जनाले बीपीलाई भने – ‘हामीलाई मारिहाल्यो भने सान्दाई तपाईं नआउनु होला’ । त्योवेला नेपालमा भएका सबैखाले संकटको समाधान भनेकै बीपी हो, उहाँ नभएर प्रजातन्त्र प्राप्तिको आन्दोलन कमजोर हुन्छ भन्ने आमकांग्रेसीको वुझाई थियो ।

शाही नेपाल वायु सेवा निगमको जहाजवाट काठमाडांै विमानस्थल पुग्नासाथ गुरुङ, गौतम र कोइराला पक्राउ परे । 

इन्दिराको रणनीति

आस र त्रास देखाएर बीपीलाई भारतमै रोक्ने दिल्लीको रणनीति थियो । भारतमा संकलटकाल लागु भएको थियो र बीपीका शुभचिन्तक नेताहरु जयप्रकाश नारायण, चन्द्रशेखर लगायत विरोधी नेता जेलमा थिए । त्यही मौकामा इन्दिराले नेपालको बैदेशीक नीति र सुरक्षा अधिकार भारतलाई दिने भए बीपीलाई नेपाली राजनीतिमा पुनः स्थापित गराई दिने प्रस्ताव ल्याइन (आचार्य, २०७० ः ४५)। बीपीले राष्ट्रियतासँग संझौता गर्न मानेनन् । त्यसपछि भारतीय नीति उनीप्रति झन्झन् कडा हुँदैगयो । फर्किनु अघि बीपीले कार्यकर्ता माझ भनेका कुरा स्मरण गर्दै कांग्रेस नेता चक्र वास्तोलाले भनेका छन् – राजा र हाम्रो स्वार्थ एउटै छ, राजालाई राज्य गर्न देश चाहिन्छ हामीलाई पनि लोकतन्त्र ल्याउन देश चाहिन्छ । देश नै हाम्रो साझा स्वार्थ हो । त्यसैले इन्दिरालाई रानी मानेर भारतमा वस्नु भन्दा जोखिम उठाएर भए पनि स्वदेशमै फर्किने निर्णयमा पुगेका थिए (आचार्य, २०७० ः ४५)। भारत बीपीलाई गोटी वनाएर नेपालमाथि हस्तक्षेप गर्न चाहन्थ्यो । राजालाई बीपीसँग र बीपीलाई राजा देखाएर फाइदा लिन चाहन्थ्यो । बीपी फर्किनु अघि २०३३ साल पुषको पहिलो साता भारतीय रक्षामन्त्री जगजीवन रामले नेपाल पुग्ने वित्तिकै तपार्इंलाई फाँसीमा भुण्डाउन सक्छन्, नजानुस् भन्ने प्रधानमन्त्री इन्दिरा गान्धिको सन्देश बीपीलाई टेलिफोनवाट सुनाए(गौतम्, भाग ५, २०७१ः १६) ।’ इन्दीरा गान्धीको छलछाम र जालझेलवाट अपमानीत महसुस गरिरहेका बीपीले आफ्नो निर्णयमा पुनविर्चार गर्ने त के रक्षामन्त्री रामलाई भेट्न समेत माननेन् ।

जगजीवन रामले एकपटक भेटेर मात्र नेपाल जानुस् भन्ने आग्रह गरेपछि बीपीले उनलाई दिएको जवाफवारे गणेशमान सिंहले भनेका छन् – हैन अव मैले जाने निर्णय गरी नै सकें, मेरो भन्नु पनि केही छैन, भन्दा हैन तपाईंले मलाई भेटेर मात्र जानोस् भनेर भन्नुभयो । तर कोइरालाजीले पछि फेरि दिल्ली आएँ भने भेट्ने छु, अहिले त म जाने तयारी गरिराखेको छु भनेर भन्नुभयो (कोइराला, २०६० ः २६०)। 

भारत सरकारले कांग्रेसको गतिविधिलाई वोर्डरबाट पचास माइल टाढा राख्न आदेश दिएको थियो भने शसस्त्र क्रान्तिका लागि जम्मा पारेर हतियार जफत गरिएका थिए । भारतमा रहँदा स्वयं बीपीलाई समेत राजनीति गतिविधि गर्न नदिएर कडा सुरक्षा घेरामा राखिएको थियो । 

राजा र प्रजातन्त्रवादीलाई एकआपसमा जुधाएर आफ्नो स्वार्थ सिद्ध गर्ने र नेपालीलाई मिल्न नदिने भारतीय नीति थियो । त्यही ताका सिक्किमलाई भारतमा मिलाइएको थियो । त्यो घटनाले पनि बीपीको मनोविज्ञानमा असर पारेको थियो । आफूहरुले भारतमा वसेर प्रजातन्त्रका लागि संघर्ष गर्दा कतै मुलुककै अस्तित्व गुम्ने त होइन ? देश नै रहेन भने कहाँ राजनीति गर्ने ? बीपीसँगै स्वदेश फर्र्किएका नेता रामववावु प्रसाई सम्झन्छन् – ‘सिक्किम भारतमा विलय हुनुभन्दा पाँच छ महिना अघिको कुरा हो । सिक्किमका पाँच सात नेता बीपीलाई भेट्न सारनाथ (वनारस) आएका थिए । उनीहरुले भने हामी भोटे राजा फाल्न चाहन्छौ । तैपनि तपाईसँग सल्लाह माग्न भनेर आएको । उनीहरुसँग बीपीले भन्नुभएको थियो– प्रजातन्त्रको हत्या त नेपालमा पनि भएको छ । हामी राजा हटाउन चाहँदैनौ । किनभने राजा हटाउँदा हामी नेपाललाई स्वतन्त्र राखिरहन सक्दैनांै । राजा चाहिन्छ । राजाले गल्ति गरे । तपाईहरु पनि राजा फाल्न लाग्नुहुन्छ भने सिक्किम त स्वतन्त्र रहन सक्दैन नि । उनीहरु फर्किए । त्यो वेला भएको के थियोे भने सिक्किमका प्रजातन्त्रवादीहरु पनि भारतलाई राजाले दुख दिए केही गर्नु प¥यो भन्दा रहेछन् र राजा पनि जनताका नेता भनाउँदाहरुले साह्रै दुख दिए भन्दा रहेछन् । हुँदाहँुदा ‘जनमत संग्रह’ भयो । ९७.५५ प्रतिशतले राजा चाहिन्न भन्ने पक्षमा मतदान गरे । राजा उडे पछि सिक्किमको स्वतत्रन्ता पनि उड्यो ।’

इन्दिरा गान्धीको दवावमा भएको देखावटी जनमतसंग्रहले सिक्किमलाई भारतमा गाभ्ने निर्णय ग¥यो । त्यही आधारमा १६ मे १९७५ (वि.संंं. २०३२ साल जेठ २ गते) सिक्किम विधिवत रुपमा भारतको अंग वन्यो । 

ठीक त्यहीताका प्रधानमन्त्री गान्धीको राजिनामा मागेर जयप्रकाश नारायणको नेतृत्वमा सबै विपक्षीहरुले आन्दोलन गरिरहेका थिए । त्यसैवाट मुक्ति पाउन उनले २५ जुन १९७५ (२०३२ असाढ ११) मा संकटकाल घोषणा गरिन् । २१ महिना लामो संकटकाल अवधिभर आफ्ना सबै विरोधीलाई जेल हालीन् । ‘दिल्लीमा रहेको बीपीको  निवासमा खानतलासी गराईन (गौतम्, भाग, ५, २०७१ ः २)।’ नेपाली कांग्रेसको गतिविधिलाई वोेर्डरवाट ५० माइल टाढा सिमित राख्न आदेश दिइयो । सँधै केही न केही राजनीतिक गतिविधि गरिरहनुपर्ने बीपीले यो घटनावाट अत्यन्त अपमानित महसुस गरिरहेका थिए।

मृत्युदण्डको त्रास

नेपाल फर्केपछि आफ्ना पति बीपीलाई मृत्युदण्ड वा जेलमै सडाएर मार्न सक्ने त्रासका कारण राजनीतिमा खासै नराख्ने सुशीला कोइराला तनावमा थिइन् । बीपीकै भनाईमा ‘शैलजाले त अनौठो व्यवहार नै देखाइन् । उनी भित्रभित्रै चिन्तित र आवेगमा थिइन् (कोइराला, २०७२ ः४०) ।’ परिवारका अरु सदस्य र शुभचिन्तक पनि व्याकुल र आफंैमा हराए जस्ता थिए । बीपी पुत्र कांग्रेस महामन्त्री शशांक कोइराला सम्झन्छन् – ‘बीपी वावा नेपाल जाने कुराले आमा धेरै चिन्तित हुनुहुन्थ्यो । ८ वर्ष सुन्दरीजलमा विताईसक्नुभएको थियो । फेरि यति खतरनाक मुद्धा छन् । जेल हाले भने त त्यही मारिदिन्छन् भनेर त्रासदीपूर्ण वातावरण छाएको थियो पुरै परिवारमा । झुण्डाउँछन् भनेर रुवावासी नै चलेको थियो । वावाले सबैलाई सम्झाउनु भयो ।’

यता काठमाण्डौमा गणेशमान पत्नी मंगलादेवी सिंहपनि वावुलाई जस्तोसुकैसजाय हुनसक्छ भन्दै सहनुको विकल्प छैन भनेर छोराछोरीलाई सम्झाउँदै थिइन् । गणेशमान पुत्र कांग्रेस नेता प्रकाशमान सिंह भन्छन्–‘आमाले सम्झाईरहनु भएको थियो राजनीतिमा लाग्ने मानिसले जस्तो सुकै परिस्थितिको पनि सामना गर्नुको विकल्प छैन । तिम्रो वुवालाई मार्न पनि सक्छन् । मन अहिले देखि वलियो वनाउनु पर्छ ।’

राजासँग मिल्ने बीपीको नीति

प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ,त्यसदेशका वासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर मुलुकको अस्तित्व रक्षा गर्नु पर्छ ।’ भन्ने आसयको वक्तव्य दिएर बीपी आफ्ना छ सहयोगिका(बीपी, गणेशमान, शैलजा आचार्य, रामवावु प्रसार्इं, खुमवहादुर खड्का र निलाम्वर पन्थी) साथ स्वदेश फर्किए । फर्किनु अघि बीपीले कुन हैसियतमा बक्तव्य दिने भन्ने विषयमा ठूलै वहस भयो । बीपीले कार्यवाहक सभापति सुवर्ण शमशेरले गठन गरेको केन्द्रीय समिति पुनर्गठन गरेको जानकारी पटनावाट दिए (गौतम्, भाग, ५, २०७१ ः १७)।’

 त्यो निर्णय लिनुअघि उनले सुवर्णसँग कुनै सल्लाह गरेका थिएनन् । पुनगर्ठन गरेको वताए पनि बीपीको कार्यसमितिमा को थिए भन्ने सार्वजनिक भएन । बीपी फर्किने समयमा सुवर्ण र बीपी दुवैले गठन गरेका बेल्लावेग्लै कार्यसमिति अस्तित्वमा रहे ।‘सभापतिको हैसियतमा बीपीले जारी गरेको वक्तव्यमा प्रजातन्त्रवादीले राष्ट्रियताप्रति र राजाहरुले प्रजातन्त्रप्रति ध्यान दिनुप¥यो भन्ने सन्देश थियो । त्यो वक्तव्यमा मेलमिलाप शव्द थिएन ।’
पटना विमानस्थलवाट उनी फर्किने वेलामा भारतीय समाजवादी नेता जयप्रकाश नारायण सहित ठूलो संख्यामा शुभचिन्तकहरु जम्मा भएका थिए । 
पटना विमानस्थलमा बीपीको विदाई गरिरहँदा २०३३ साल पुष १६ गतेको दिन परिवारका सदस्य त भावविव्हल हुने नै भए । भारतका समाजवादी नेता जयप्रकाश नारायणले पनि आँशु रोक्न सकेनन् । यस प्रसंगमा बीपी लेख्नछन् – ‘कोहीले मेरो हात समाए, कसैले फूल माला पहिराइदिए, कसैले खुट्टा छोए, कसैले फूल दिए, कोही यत्तिकै रोए । अनी जे.पी.ले अँगालो मारे (कोइराला, २०७२ ः ७) ।’ 

२०३३ साल पुष १६ गते पटना विमानस्थलमा आफूले देखेको वातावरण चित्रित गर्दै बीपी सवार विमानका चालक गंगा रिजाल लेख्छन् – ‘विहान पौने नौ पनि वजेको थिएन । पटना विमानस्थलमा अवतरण गरेर विमानस्थल गृहतिर लागे । विमानस्थलको त्यो पातलो प्यासेन्जर लञ्जमा पाइला राख्ने ठाउँ थिएन । विहानको नास्ता त्यही गर्ने सिलसिलामा आफ्ना अन्य क्रुसँगै त्यहाँ पुगेको थिएँ । तर व्रेकफाष्ट त के कुरा त्यहाँ चिया समेत पाउन दुर्लभ थियो । यति धेरै मान्छे सम्भवतः उक्त एयपोर्टमा यसअघि कहिल्यै देखेको थिएन ।’

त्यत्रो जोखिम मोलेर स्वदेश फर्किदा समेत बीपीमा कुनै प्रकारको घवडाहट थिएन । बीपीसँगै फर्किएका कांग्रेस नेता खुमवहादुर खड्का भन्छन् – ‘बीपीको चेहरामा टेन्सन कहिल्यै झल्किदैनथ्यौ । सँधै हसमुख चेहरा । तर गणेशमानजीकोमा अलिअलि थाहा हुन्थ्यो । फर्किनेवेला भारतीय नेताहरुले भनेका थिए, बीपी तपाईं जे चाहनुहुन्छ हामी गर्छौै राजासँग मिल्न नजानुस् । तर उहाँले मान्नुभएन ।’

पञ्चहरुमा त्राहिमाम

बीपी नेपाल फर्कने र राजासँग मेलमिलाप गर्ने खवरले कट्टरपन्थी मण्डलेहरुको होसहवास उडेको थियो । कट्टरपञ्च मात्र होइन सरकारका मन्त्रीहरु स्वयं बीपी विरुद्व प्रदर्शन गराउने योजनामा सकृय रहेको सूचना बागमती अञ्चलका अञ्चलाधिस सूर्यप्रसाद श्रेष्ठसँग थियो । रानीपोखरीको डिलमै रहेको अञ्चलाधिश कार्यालयमा श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको बैठक वोलाए । त्यही योजना वन्यो सबै यात्रु ओरालेपछि रनवे नजिकै टेन्ट तयारी अवस्थामा राख्ने, बीपी र गणेशमानलाई त्यही टेन्टमा केही समय राखेर सुरक्षित तरिकाले भित्रि रुटबाट स्वाट्टै सुन्दरीजल लैजाने । 
श्रेष्ठ सम्झन्छन् – ‘बीपीको राजासँगको व्यवहार कस्तो हुने हो ? नेपाल आएपछि उनले के वोल्ने हुन् ? सायद पञ्चायती व्यवस्था नै जाने पो हो की ? भन्ने त्रासका कारण गृहराज्य मन्त्री सिंहकै अगुवाईमा बीपी विरुद्व प्रदर्शन गर्ने तयारी भएको थियो ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ सबै यात्रु ओरालेर बीपी सहित छ जनालाईरनवे नजिक वनाइएको अस्थायी टेन्टमा राखियो । 

फेरी सुन्दरीजल

त्यति वेलाको दृश्य स्मरण गर्दै क्याप्टेन गंगा रिजाल लेख्छन् – ‘एभ्रो विमानलाई आफ्नो निश्चित स्थानमा यात्रुहरु ओराल्ने अनुमति टावरले दिएन र रिमोट पार्किङ जहाँ केही पालहरु गाडिएका भएतिर लगेर ओराल्नु प¥यो । पञ्चायत सरकारको कपटपूर्ण योजना अनुरुप यतिका वर्ष आफ्नो देशको माटोमा टेक्न नपाउँदै बीपीलाई गिरफ्तार गरेर जेल चलान गरियो ।’

बावुलाई भेट्न उत्साहित हुँदै विमानस्थलको ट्राफिक कन्ट्रोल रुमसम्म पुगेका कांग्रेस नेता प्रकाशमानले सिंहले गणेशमान सिंहलाई भेट्न त के देख्न समेत पाएनन्। ‘कहाँ लग्यो के ग¥यौ थाहै भएन ।’ क्याप्टेन रिजाल लेख्छन् – ‘विमानस्थलमा बीपी र गणेशमानको स्वागतार्थ आएको विशाल भीडका अगाडी भाडामा ल्याईएका तथा राज्यकोष खर्च गरेर पालिएका मण्डलेहरुको समुह प्रहरी सुरक्षामा एउटा कुनामा वसेर’ बीपी मुर्दावाद । बीपीलाई फाँसी दे । अराष्ट्रिय तत्व मुर्दावाद आदी नारा लगाउँदै थिए ।

अर्कोतर्फ बीपीसँगै फर्किएका रामबाबु प्रसार्इं, शैलजा आचार्य, खुमवहादुर खड्का, निलाम्वर पन्थीलाई एसपी अफिस हनुमानढोका लगे । पुरुषहरुलाई सेन्ट्रल जेल र ‘राति शैलजालाई चाहीं महिला जेल लगियो (गौतम्, भाग, ५, २०७१ ः २५)।’

बीपीको स्वागतका लागि कृष्णप्रसाद भट्टराई दलवल सहित विमानस्थल जाने तयारीमा थिए । तर ‘त्यो विहानै भट्टराईलाई सरकारले घरवाटै ‘गिरफ्तार’ ग¥यो (गौतम्, भाग, ५, २०७१ ः २७)।’

बीपीको स्वागतका लागि विमानस्थल पुगेका पूर्व सभामुख दमननाथ ढुंगाना भन्छन्– ‘बीपीको व्यक्तित्व नै आन्दोलन र विद्रोहको सूचक थियो । जव उहाँले नेपाली भूमिमा पाइला टेक्नुभयो । त्यहींबाट राज्यले असाधारण किसिमबाट नियन्त्रणमा लियो । त्यो एउटा ठूलो कम्पन थियो । राजनीतिक उथलपुथलको मार्ग पहिल्याई सकेको थियो ।  राजनीतिले अग्रगामी नयाँ कोर्ष र दिशा लिन्छ भन्ने थियो । शाही तक्ता अर्थात राजाको सिंहासन हल्लिसकेको थियो ।’

विमानस्थलबाट गिरफ्तार गरी दुवै नेतालाई सोझै सुन्दरीजल पु¥याइयो । सुन्दरीजल त्यही वन्दीगृह हो जहाँ २०१७ साल पुष १ को शाही कु पछि बीपी र गणेशमानले लगातार आठ वर्ष विताएका थिए । आठ वर्ष लामो प्रवास पछि सुन्दरीजलमै वन्दी हुन आई पुगेका दुवै नेताको फेरि उही दैनिकी शुरु भयो । राजाले २०१७ साल पुष १ मा कु गरेपछि सुन्दरीजलमा रहँदाकै जस्तो ।


सुन्दरीजलमा पुन वन्दी वनाएसँगै बीपीलाई पुरानै कोठामा मात्र राखिएन र प्रयोग गर्न दिएका सामान पनि तिनै थिए, जुन उनले २०१७ साल पछि वन्दी हुँदा प्रयोग गरेका थिए । बीपी लेख्छन् – ‘यो त्यही वडेमानको खाट हो । जुन यस अघि थुनामा रहँदा मैले आठ वर्षसम्म प्रयोग गरेको थिएँ । यो यति ठूलो छ की यसमा म, मैले डेस्क वनाएको होचो टेवल अनी एउटा साइड टेवल सबै अटाएपछि पनि अरु धेरै खाली ठाउँ वाँकी हुनसक्छ । उही पुरानो कुराले मन गह्रो हुन्छ (कोइराला, २०७२ ः ९)।’

राजालाई पठाईयो वयान 

सुन्दरीजल पु¥याएकै दिन सैनिक र निजामति अधिकृतका साथ अञ्चलाधिश सूर्यप्रसाद श्रेष्ठ बीपीको वयानका लागि पुगे । सोध्नुपर्ने प्रश्नहरुको सूचि दरवारका सचिव नारायणप्रसाद श्रेष्ठले अञ्चलाधिशलाई पहिल्यै थमाएका थिए । बीपी फेरि सुन्दरीजल पुस्तकमा लेख्छन् – ‘तपाईंको स्वदेश आगमनको अर्थ के हुन सक्छ ? अहिलेको अवस्थामा भारतको खेल के हुन सक्छ ? विमान अपहरणवाट लिएको तीस लाख भारतीय रुपैया कहाँ खर्च गर्नुभयो ?ओखलढुंगा कव्जा गर्ने योजनाको उद्देश्य के थियो ?यी र यस्तै प्रश्न सोधियो (कोइराला, २०७२ ः२)।’ शसस्त्र क्रान्ति व्यवस्थापनको नेतृत्व गरिरहेका कान्छा भाई गिरिजाप्रसाद कोइरालालाई भारतमै छोड्नुले कुनै बैकल्पिक कदम चाल्ने रणनीति त छैन भन्ने प्रश्न समेत बीपीलाई गरियो । त्यो वेला राजा बीरेन्द्र पोखरामा थिए ।

अञ्चलाधिस श्रेष्ठ सम्झन्छन् ‘मलाई नारायणप्रसाद श्रेष्ठजीले अठार बीस वटा प्रश्न तयार गरेर दिनुभयो । बीपीलाई सोधेर पोखरामा महाराजधिराजलाई पठाईदिनु भनिएको थियो । अव परेन फसाद । त्यो वेला हामीसँग राम्रो रेकर्ड गर्ने रेकर्डरसम्म थिएन । राष्ट्रिय अनुसन्धान विभागसँग रहेछ । त्यही लिएर म सुन्दरीजल गएँ । बीपीलाई प्रश्न सोधेर मैले सिधै पोखरा पठाई दिएँ । त्यो वेला सोधेको एउटा प्रश्न मलाई अझै याद छ । विमान अपहरण गरेर लगेको पैसा के गर्नुभयो । विश्वेश्वरवावु । उहाँले भन्नुभयो – जनताको पैसा जनताले खर्च गरे अञ्चलाधिश ’ ।
(पत्रकार जगत नेपालको प्रकाशोन्मुख पुस्तक 'बीपीको राजद्रोह' वाट)

ताजा खबर