मलेशियाद्वारा पिएनजी पराजित

२०७८ चैत १५ मंगलबार १६:४६:०० मा प्रकाशित

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला अन्तर्गत मंगलबार भएको खेलमा पपुवा न्यु गिनी (पिएनजी) मलेशियासँग ८ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मलेसियाले ८ रनले पराजित गर्दा अन्तर्राष्ट्रिय शृखंलामा विजयी सुरुआत पनि गरेको छ । पिएनजीले भने लगातार दोस्रो हार ब्यहोरेको छ ।

पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो । मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.३ बलमा सबै विकेट गुमाएर मात्र १ सय ७२ रन जोड्न सक्यो । पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै नोर्मान भानुवाले ४५ रन बनाए ।

सिमोन अटाइले १५ रन जोड्दा असाद भाला ११ रनमा आउट भए । मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले ३/३ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रनको योगफल जोडेको थियो । मलेसियाका दुई ब्याट्स म्यानले अर्धशतकीय इनिङ्स खेले ।

स्कोरबोर्डमा १२ रन छँदा पहिलो विकेट गुमाएको मलेसियाका विरन्दिप सिंह र कप्तान अहमद फैजले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए । यसबाहेक, विरन्दिपले तेस्रो विकेटका लागि सेद अजिजसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । मलेसियाका ओपनर विरन्दिपले अविजित ५९ रन बनाए ।

यस्तै, फैजले ५६ रन बनाउँदा अजिज ४७ रनमा पभेलियन फर्किए । पिएनजीका नोर्मान भानुआले दुई विकेट र नोसैन पोकनाले एक विकेट लिए । जितसँगै मलेशियाले पनि तालिकामा २ अंक जोडेको छ । यस अघि पिएनजीसँग १५ रनको जित निकालेको नेपालको समान दुई अंक छ । मलेसियाले अब बुधबार घरेलु टोली नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

ताजा खबर