इन्धन खपत घटाउन आइतबार पनि विदा दिन निगमको प्रस्ताव

२०७८ चैत १५ मंगलबार १४:०३:०० मा प्रकाशित

काठमाडौ । नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले आइतबार पनि सार्वजनिक बिदा दिन सुझाव दिएको हो ।

बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने भएकाले यस्तो प्रस्ताव गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । त्यस्तै अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ ।

त्यस्तै इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमको माग छ ।

इन्धनको मूल्य वृद्धिबाट उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन भन्दै १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाइएको हो । इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ ।

ताजा खबर