भूमीहीनलाई धनी पूर्जा बाँड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलायोः अध्यक्ष ओली

२०७८ चैत १५ मंगलबार १२:०१:०० मा प्रकाशित

रुपन्देही । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासीमाथि गठबन्धन सरकार निर्मम रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले सुकुम्बासीमाथि बञ्चरो चलाएको आरोप लगाएका हुन् ।

उनले लालपूर्जा बाँड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलाएको बताए । उनले भने,‘हामीले काम गर्ने हो, काम गरेर देखाउने हो, काम गरेर श्रेष्ठता गर्नुपर्ने हो। हामीले सुकुम्बासी समस्यासमाधान गर्न आयोग बनायौं तर भूमीहीनलाई धनी पूर्जा बाँड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलायो।’

अहिलेको सरकारले फाइलसमेत लुकाएको भन्दै उनले फाइल भेट्टाएपछि जग्गा बाँड्ने बताए । २०७४ साल चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्यू टावर ४ वर्षमा निर्माण सम्पन्न गरिएको हो । तिलोत्तमा नगरपालिकाले यो भ्यूटावर, भ्यूटावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दाबी गरेको छ ।

तिलोत्तमा नगरपालिका र शंकरनगर पन विहारको संयुक्त लगानीमा निर्माण गरिएको भ्यूटावरमा पहिलोदेखि छैठौ तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् भने सातौं तलादेखि मात्रै दृश्यअवलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ । साढे ११ करोड भन्दा बढीको लागतमा निर्माण गरिएको भ्यूटावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गरेको छ ।

कुल २५ हजार १२२ बर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यू टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालय सहित बातानुकूलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरु बनाइएको छ । भ्यू टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दुरविनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहरहरु देख्न सकिनेछ।

ताजा खबर