सात लाखको गहनासहित एकजना पक्राउ

२०७८ चैत १४ सोमबार २२:१२:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले सात लाख ५९ हजार रुपैयाँ बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई सोमबार पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएकी तिलमाया मगरको कोठाबाट उनले गहना र नगद चोरी गरेका हुन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाख्रिनको साथबाट प्रहरीले दुई तोलाको सुनको हार, एक तोलाको सुनको बाला, एक तोला सुनको झुम्का तथा २८ हजार नगद बरामद गरेको छ ।

प्रहरीले पक्राउ पाख्रिनसँग मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

ताजा खबर