हवाई उडानबारे यात्रुलाई समयमै जानकारी दिन आयोगको आग्रह

२०७८ चैत १४ सोमबार २१:५६:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान हुने नहुनेबारे यात्रुलाई समयमै जानकारी गराउन माग गरेको छ । आयोगले सोमबार आयोजना गरेको ‘हवाई उडान र उपभोक्ता अधिकारसम्बन्धी छलफल’ कार्यक्रममा आयोगकी उपसचिव मञ्जु खतिवडाले उडान नभएपछि समयमा नै यात्रुलाई जानकारी दिनुपर्ने व्यवस्था गरिनुपर्ने बताइन् ।

अनुगमनका क्रममा हवाई कम्पनी यात्रुको सहज र सुरक्षित यात्राप्रति गम्भीर नभएको पाइएको उनले उल्लेख गरिन् । अनुगमनका क्रममा आठ घण्टासम्म पनि उडान नभएको, विमान कम्पनीले समयमा सही सूचना नदिने गरेको लगायत कारणले यात्रुले कठिनाइ भोग्नुपरेको, लामो समयसम्म विमानस्थलमा पर्खनुपर्ने कारण यात्रुले विमानस्थल परिसरमा महँगो र गुणस्तरहीन खानेकुरा खान बाध्य भएको पाइएको छ ।

आठ घण्टासम्म पनि हवाई उडान नभएपछि विमान सेवा कम्पनीले यात्रुलाई चिया खाजाको व्यवस्था नगरेको, साँझ भइसकेपछि उडान रद्द भएका खण्डमा यात्रुको सामान फिर्ता गर्ने गरिएको र यात्रुले आफ्नो व्यवस्थापन आफैँ गर्ने गरेको, विमान सेवा कम्पनीबाट केही बन्दोबस्त नहुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै उडान नहुने जानकारी समयमा नदिँदा यात्रु बेखर्ची भएर आफन्तकामा बस्नुपरेको र विमान कम्पनीले कुनै जिम्मेवारी लिने नगरिएको पाइएको छ । पहाडी भेगमा उडान भर्ने समिट एयरलाइन्सले यात्रुलाई बिहानै विमानस्थलमा बोलाउने, दिनभरि कुराउने तथा विना जानकारी रद्द गर्ने जस्ता कार्य गरेको आयोगकी उपसचिव खतिवडाले जानकारी दिइन् । यस्तै विमान कम्पनीले आफूखुसी भाडादर बढाउने गरेको पाइएको छ ।

आयोगका कार्यवाहक अध्यक्ष डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले विमानस्थलमा यात्रुको मानवअधिकार रक्षा र उपभोक्ता अधिकारको प्रवद्र्धनका लागि सरोकारवाला पक्षसँग छलफल गर्दै सुझाव सङ्कलन भइरहेको बताए । आयोगका सदस्य मिहिर ठाकुरले हवाई क्षेत्रको समस्या समाधानका लागि पहल भइरहेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक हंसराज पाण्डेले यात्रुको सुरक्षित उडान, भाडादर तोक्नेलगायत उडान प्रक्रियालाई व्यवस्थापन गर्नका लागि ऐन र कानून भए पनि उडान ढिला हुँदा यात्रुको सुरक्षा र अन्य व्यवस्थापन कसले गर्ने भन्ने स्पष्ट कानून नभएको बताए ।

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भूलले त्रिभुवन विमानस्थल प्रतिघण्टा एक हजार ३५० यात्रु आवागमन गर्नसक्ने क्षमताको बने पनि अहिले प्रतिघण्टा दुई हजार ५०० भन्दा बढी यात्रुले आवागमन गरेको र हवाईजहाजको सङ्ख्या पनि धेरै बढेकाले उडानका क्रममा हुने एयर ट्राफिक जामका कारण यात्रुलाई समस्या परेको बताए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेको बताए । नेपाल एयरलाइन्सका नायब महाप्रबन्धक कर्णबहादुर थापाले यात्रुलाई सहज गर्न आफूहरुले हवाई उडानमा सुधार गरिरहेको बताए । बुद्ध एयरका सञ्चार अधिकृत दीपेन्द्र कर्णले भौगोलिक बनावट र मौसमका कारण हवाई उडान ढिला हुने गरेको बताए ।

उनले सबै प्रदेशलाई जोड्नका लागि प्रदेश मुकामबाट प्रदेश मुकाम हवाई उडान गरिएको जानकारी दिए । यती एयरलाइन्सका स्टेशन म्यानेजर फुरी तामाङले विमानस्थलमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा उडान समयमा नहुँदा यात्रुलाई समस्या हुने गरेको बताइन् ।

ताजा खबर