चुनावी गठबन्धन नगर्न देउवालाई कोइरालाको सुझाव

२०७८ चैत १४ सोमबार १६:३०:०० मा प्रकाशित

काठमाडौँ । आगामी स्थानीय तहका निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच सवालजवाफ चलेको छ ।

सोमबारको केन्द्रीय समिति बैठकमा दुई नेताबीच सवाफजवाफ चलेको हो । बैठकमा कोइरालाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय केन्द्रले गर्न नमिल्ने बताएका छन् । उनले केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दा तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भनेर प्रश्न गरेका थिए । उनले पार्टीभित्रै सबै गुट उपगुटबीचको एकतामा जोड दिन सभापति देउवलाई आग्रह गरे । उनको प्रश्न थियो, ‘गठबन्धन कोसँग, किन, केका लागि गर्ने हो ? अरु पार्टीसँग गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीभित्रको एकतामा किन जोड नदिने ?’

जवाफमा सभापति देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएका भन्दै नेताहरुलाई त्यो स्मरण गर्न आग्रह गरे । उनले कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरे ।

उनले भने,‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ ।’ बैठकमा सभापति देउवाले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले ती कुरा सम्झिएर विगत कोट्याउन नहुने बताए ।

ताजा खबर