झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

२०७८ चैत १४ सोमबार १०:०८:०० मा प्रकाशित

काठमाडौं । ललितपुर महानगर पालिका वडा नम्बर २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ ।

कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । पुलको लम्बाइ १३५ मिटर रहेको छ । पुल ७९ लाख ७६ हजार ७८९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन् । कार्यविनायक र मछिन्द्रबहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने विश्वास व्यक्त गरिएको छ । सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो ।

पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।

सो क्षेत्रमा पर्यटकीय गतिविधि बढेसँगै स्थानीयको आयआर्जनमा महत्वपूर्ण सघाउ पुग्ने, विदेशी पर्यटकको आगावगमनले नेपालको हस्तकला, काष्ठकला तथा मूर्तिकलाको विश्वव्यापीकरणमा सहयोग मिल्ने छ ।

मन्त्री भुसालको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट पुल निर्माण गरिएको हो । पुल उद्घाटन गर्दै मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने उक्त पुलले नेपालको हस्तकला, काष्ठकला र मूर्तिकलाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

ताजा खबर