मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट कसैले गरेका छैनन्ः अध्यक्ष ओली

२०७८ चैत १२ शनिबार १५:२४:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताएका छन् ।

शनिवार पार्टीको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुष्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् । उनले अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताए । उनले सबै पार्टीहरु एकतिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा एमालेको साथमा रहेको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै एमालेको पाखुरा देखेर देउवा छक्क परेको बताए । उनले भने, ‘मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले गरेका छैनन् । अरु त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरुको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरुले भने यसो गर्नु हुँदैन । शेरबहादुर देउवाजीले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ । नेपाली कांग्रेसको केन्द्रमा टुप्पामा बसेर टुप्पाबाट हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँले छक्क पर्नुभयो । तलतलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरी देख्याछु मैले एमाले देशभरी । चुनावमा नचिताए हुन्छ कसैले ।’

अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताए । उनले सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको आरोप लगाए ।


 

ताजा खबर