हुलाकी राजमार्गको दुर्दशाः दुई वर्षमा २० प्रतिशत काम

२०७८ चैत १२ शनिबार १५:०५:०० मा प्रकाशित

विराटनगर । मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचेक्राइँले सो सडक अलपत्र परेको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा यहाँका नागरिक निराश बनेका छन् । अहिलेसम्म सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र भएको बताइएको छ ।

मोरङको रतुवाखोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको प्रगति दुई वर्ष पाँच महिनामा २० प्रतिशत मात्र पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना निर्माणका लागि प्राप्त बजेटमध्ये ८० प्रतिशत खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ ।

विसं २०७६ कात्तिकमा चार लेन सडक निर्माण गर्ने ठेक्का समझौता भएको थियो । सो आयोजनाको निर्माण कार्य विसं २०७९ कात्तिक २३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । मोरङको ४४ किलोमिटरमध्ये अहिलेसम्म चार दशमलव पाँच किलोमिटर मात्र कालोपत्र भएको छ भने सडकको दायाँबायाँ नाला निर्माण गर्ने काम भइरहेको छ ।

बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताए । सो सडकमा हालसम्म साढे चार किलोमिटर कालोपत्र, १० किलोमिटर सडकमा माटो भर्ने तथा ३० प्रतिशत पूर्वाधार र सात दशमलव पाँच किलोमिटर सबबेसको काम भएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले आफ्नो पालिकामा ठेक्का पाएका निर्माण कम्पनीले समयमा काम नगर्दा हुलाकी सडक विस्तारले गति लिन नसकेको बताए ।

सडक निर्माण पूरा नहुँदा यस सडक हुँदै यात्रा गर्ने सर्वसाधारण दुर्घटनाको जोखिममा पर्नुका साथै धुल्लामे हुँदै आएको छ । यात्रा कष्टकर बनेको उनको भनाइ छ । ठेकेदार कम्पनीले ठेक्का लिएको दुई बितिसक्दा पनि २० प्रतिशत कामसमेत नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उक्त सडक सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी हिलाम्मे हुने गरेको छ ।

विराटनगर–रङ्गेली सडकखण्डमा कल्भर्ट बनाउन भत्काइएका सडक धुलाम्ये, खाल्डाखुल्डी बनेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ भने कामको प्रभावकारी अनुगमन हुन नसक्दा ढिलासुस्ती भइरहेको स्थानीयवासी उद्धव कोइरालाको गुनासो छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा रहेको मोरङको हुलाकी सडकमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । कालिका कन्स्ट्रक्शनले ठेक्का लिएको सडकमा ६० प्रतिशत काम भएको छ भने बाँकी चारवटा ठेकेदार कम्पनीहरुको कामको प्रगति २० प्रतिशत मात्र रहेको छ ।

ताजा खबर