मेलम्ची र इन्द्रावतीका तीनसय घरमा धारा

२०७८ चैत १२ शनिबार १०:२७:०० मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ ।

नगरपालिकाको दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् । नगरप्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी व्यक्त गर्दै पानी ट्याङ्की र धाराको संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताए । खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका–१२ स्थित भिमटारका १९५ घरधुरीमा खानेपानीको धारा उपलब्ध गराइएको छ ।

३७ लाखको लागतमा ८२ घनमिटरको ट्याङ्की बनाएर खानेपानी उपलब्ध गराएपछि स्थानीयवासी लाभान्वित भएका छन् । गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकामा अहिले सफा र स्वच्छ पानी स्थानीयवासीले पिउन पाएका बताए ।
 

ताजा खबर