चुनावी गठबन्धन नगर्न कांग्रेस केन्द्रीय सदस्यहरुको सुझाव

२०७८ चैत ११ शुक्रबार २०:०६:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् । बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने केन्द्रीय सदस्यहरुले मत राखेको जानकारी दिए ।

महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जबर्जस्त निर्णय लाद्न खोजेको भनि गलत प्रचार गरिएको बताए । उनले पार्टी सभापतिले जबर्जस्त निर्णय नलाद्ने र यसको सम्बन्धमा निर्णय केन्द्रीय कमिटी बैठकले गर्ने बताए । स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई वेवास्ता गरेर माथिबाट कुनै पनि निर्णय नलादिने उनले स्पष्ट पारे ।

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरुले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरेका उनले बताए । प्रवक्ता महतले नेपाल विद्यार्थी संघमा अध्यक्ष तोकिएको विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताए ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियार र प्रदेश सभापतिहरु उद्धव थापा (प्रदेशन नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा राखेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक आइतबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

ताजा खबर