पश्चिमा नेताहरू युक्रेनलाई थप अस्त्र दिन सहमत

२०७८ चैत ११ शुक्रबार ०८:१२:०० मा प्रकाशित

पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटो, युरोपेली सङ्घ (ईयू)अनि सम्पन्न देशहरूको समूह जी सेभेनको शिखर सम्मेलनमा पश्चिमा नेताहरूले रुसविरुद्ध एकता प्रदर्शन गरेका छन् ।

पुटिनले विनाकारण आक्रमण गरेको भन्दै उनीहरूले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेका छन् । युक्रेनमा रुसले आक्रमण गरेको ठीक एक महिना पछि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनको एक अभूतपूर्व दिनमा पश्चिमा देशहरूले रुसी राष्ट्रपति पुटिनविरुद्ध ऐक्यबद्धता प्रदर्शन गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको अनुचित युद्धका सामु उनीहरू एकताबद्ध भएको बताए ।

ब्रसल्समा ती सम्मेलनहरूमा ३० जनाभन्दा बढी विश्व नेताहरू सहभागी भएका थिए । उनीहरूले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्न सहमति जनाएका छन् । साथै युक्रेनलाई थप अस्त्र उपलब्ध गराउन पनि उनीहरू सहमत भए । ब्रिटेनले युक्रेनलाई दिने क्षेप्यास्त्रको सङ्ख्या दोबरले बढाउने बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो लिङ्कमार्फत् सम्बोधन गर्दै थप मद्दतका निम्ति आह्वान गरेका थिए । उनले ट्याङ्कहरू एवं लडाकू विमान माग गरेका छन् ।

ताजा खबर