लोडसेडिङ हुन नदिन प्राधिकरण भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दै

२०७८ चैत १० बिहीबार १४:२९:०० मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कुनै पनि उद्योगमा लोडसेडिङ नहुने बताएको छ । विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी गराउन बिहीबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि उद्योगमा लोडसेडिङ नहुने र प्रति युनिट ३८ रुपैयाँ तिरेर भारतबाट सात हजार मेगावाट बिजुली आयात गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनले भने,‘आज रातिदेखि कम्तिमा ७ हजार मेगावाट आवर बिजुली नेपाल आउँछ र सबै उद्योगले बिजुली पाउँछन्।’ अहिले हिउँदमा नेपाललाई आवश्यक विद्युतको ३० प्रतिशत माग भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले अबको एकदेखि डेढ महिनामा समस्या समाधान हुने दाबी गरे ।

बुधबार र बिहीबार सस्तोमा बिजुली नपाएपछि शुक्रबारका लागि महँगोमा प्रस्ताव हालेको प्राधिकरणले जनाएको छ । नेपालभित्रको आन्तरिक माग ३१ हजार मेगावाट आवर रहेकोमा प्राधिकरणले १२ हजार मेगावाट आवर भारतबाट आयात गरिरहेको छ ।

गत वर्ष चैतमा १३ सय मेगावाट माग रहेकोमा अहिले १६ सय मेगावाट रहेको छ । जसमध्ये ९ सय मेगावाट आन्तरिक उत्पादन भैरहेको छ । गतवर्ष चैतमा नेपालले ८ सय मेगावाटसम्म भारतबाट आयात गरेको थियो ।

 

ताजा खबर