पार्टीले टिकट दिए फेरि पनि कैलालीबाटै निर्वाचन लड्छुःआरजु राणा

२०७८ चैत १० बिहीबार ११:५७:०० मा प्रकाशित

कैलाली । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् ।

नेपाल प्रेस युनियन कैलालीले बिहीबार  धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् ।

राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरिन् । उनले भनिन्, “संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।”

फरक प्रसङ्गमा उनले आगामी निर्वाचनमा कांग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताइन् । उनले भनिन् ‘‘जनताले रुचाएको, जनतासँगै रहेको, स्थानीय स्तरमा जनताका समस्यासँग जानकार रहेको र उनीहरुका आवश्यकताबारे जानकार रहेको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ ।’’

स्थानीय तह भनेका जनताको घरआँगनकै सरकार भएकाले उनीहरुका सुख, दुःखमा साथ दिने र अनुभवी व्यक्तिलाई नै पार्टीले टिकट दिने भन्दै त्यस्ता व्यक्तिलाई जिताएर पठाउन कांग्रेसका समग्र कार्यकर्तालाई आह्वान पनि गरिन् । उनले आफू कैलालीका जनतासँग भिजिसकेकाले पार्टीले टिकट दिए फेरि पनि यहीँबाट निर्वाचन लड्ने बताइन् । 
 

ताजा खबर