संसारभरिका मानिसलाई सडकमा उत्रन युक्रेनी राष्ट्रपतिको अपील

२०७८ चैत १० बिहीबार ०९:०५:०० मा प्रकाशित

रुसले आफ्नो देशमा आक्रमण गरेको एक महिना पुगेको दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपील गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन आग्रह गरेका छन् ।

निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीबार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपील गरेका हुन् । रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले बताएका छन् ।सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन् ।

उनले भने, ‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।’

उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए । रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए । रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धर्तीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे । ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको छ।

 

ताजा खबर