पुटिनलाई राष्ट्रसङ्घमा अर्को धक्का

२०७८ चैत १० बिहीबार ०९:०४:०० मा प्रकाशित

रुसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा प्रस्तुत गरेको युक्रेनसम्बन्धी प्रस्ताव विफल भएको छ । त्यसलाई केवल रुस र चीनले मात्र समर्थन गरेका थिए। बाँकी सबै १३ सदस्य मुलुक मतदानमा सहभागी भएनन् । उक्त मस्यौदा प्रस्तावले युक्रेनमा सहायता सामग्रीको ढुवानी तथा गैरसैनिकको रक्षाको आह्वान गरिएको थियो ।

तर त्यसमा युक्रेन सङ्कटमा रुसको जिम्मेदारी उल्लेख थिएन। युक्रेनले आफ्नै तर्फबाट मानवीय सहायताको प्रस्ताव यसै साता महासभामा प्रस्तुत गर्दैछ ।

यसैबीच, बेलायत सरकारले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले उनको देशले युक्रेनलाई करिब ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा बिहीबार गर्दैछन् । ब्रसेल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरूको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटहरूको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नेछन् ।

सो क्षेत्रमा युक्रेनी र रुसी भाषा सेवाहरूका निम्ति यूके सरकारले ४१ लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउनेछ। यसअघि बेलायतले करिब ४ हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ । ब्रिटिश अधिकारीहरूका अनुसार पछिल्लो सहायता यसअघि मानवीय तथा आर्थिक सहायताका लागि घोषणा गरिएको ४० करोड पाउन्ड स्टर्लिङभन्दा अतिरिक्त हो।

 

ताजा खबर