देउवाको निर्णयप्रति कोइराला पक्ष रुष्ट, सशक्त प्रतिवाद गर्ने चेतावनी

२०७८ चैत ९ बुधबार २०:५७:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजे प्रतिरोध गर्ने भएको छ । बुधबार काठमाडौंमा बसेको कोइराला पक्षको बैठकले सभापति देउवा एकलौटी अघि बढ्न खोजे त्यसको सशक्त प्रतिरोध गर्ने निर्णय गरेको हो ।

महाधिवेशनपछि सभापति देउवाले पार्टीका सबैजसो निर्णयमा आफूलाई मतदान नगर्ने नेता कार्यकर्तालाई किनारा लगाउने गरी निर्णय गरेको बैठकले निष्कर्ष निकालेको छ । सभापति देउवाले पार्टीका निर्णय प्रक्रियामा आफूहरूसँग कुनै परामर्श र छलफल नगरेको कोइराला पक्षको बुझाई छ ।

बुधबार विहान मात्रै नेता कोइरालाले देउवासँग संवाद गरेर भ्रातृ संस्थाको तदर्थ समिति गठनदेखि पार्टीले गर्ने सबै निर्णयमा छलफल गरेर निर्णयमा पुग्न र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न सुझाव दिएका थिए । तर कोइराला पक्षको बैठक नसकिदै देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्धान गुरुङलाई नियुक्त गरेका थिए ।

यसपछि कोइराला पक्षका नेताहरू थप रुष्ट बनेका छन् । बैठकमा सहभागी एक नेताले अब आफूहरु पार्टीमा भागबण्डा माग्ने र नदिए त्यसको सशक्त प्रतिरोध गर्ने निर्णयमा पुगेको जानकारी दिए ।

केन्द्रीय सदस्य बलबहादुर केसीले सभापतिले पार्टीभित्र छलफल नगरी एकलौटी गर्न नमिल्ने बताए । सभापति देउवाले स्थानीय चुनावको तयारी र संसदीय समिति गठनको विषयमा छलफल गर्न शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । सभापति देउवाले बैठकबाट चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा समेत निर्णय गराउने तयारी गरेका छन् ।

तर, कोइराला पक्षले भने केन्द्रीय कार्यसमितिले त्यसबारे निर्णय लिन नमिल्ने निष्कर्ष निकालेको छ । बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अजयबाबु शिवाकोटी, सञ्जय गौतम, प्रतिमा गौतमलगायत सहभागी थिए ।

ताजा खबर