खड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी

२०७८ चैत ८ मंगलबार २१:३३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८औँ संस्करणमा खड्का र भण्डार्री ‘प्लेयर अफ दी डिकेड’ (दशकको उत्कृष्ट खेलाडी) अवार्डबाट सम्मानित भएका हुन् ।

गत वर्ष कोरोना महामारीका कारण राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता नभएकाले उत्कृष्ट पुरुष, महिला र प्रशिक्षक दशकको छनोट गरिएको आयोजक मञ्चले जनाएको छ । खड्काले पछिल्लो एक दशकमा आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई निकै उचाइमा पुर्याएका थिए । उनकै कप्तानीमा नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

त्यस्तै सन् २०१८ मा खड्काले नेपाललाई ऐतिहासिक एकदिवसीय मान्यता दिलाएका थिए । खड्काले गत वर्ष मात्र नेपाली टोलीबाट सन्यास लिएका थिए । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी घोषित भइन् । सन् २०१४ देखि राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले घरेलु फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी छिन् । पच्चीस वर्षीया भण्डारीले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी जितेकी थिइन् ।

राष्ट्रिय टोलीका लागि ३८ गोल गर्दै सर्वाधिक गोलकर्ताको नाम राखेकी उनी सम्मिलित नेपाली टोली दुईपटक साफ च्याम्पियनशिपमा उपविजेता बनेको थियो । राष्ट्रिय फुटबल टोलीले १२औँ र १३औँ सागमा रजत पदक प्राप्त गरेको थियो । त्यस्तै नेपाल टेबलटेनिसकी एलिना महर्जनले पिपुल्स च्वाइस विधा जितेकी छिन् । उनले क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै भोटमार्फत उक्त अवार्ड जितेकी हुन् ।

एलिनाले ४७.८३३ मत प्राप्त गरिन् । उनले सागमा लगातार दुई पटक (१२औँ र १३औँ साग) को महिला टिम इभेन्टस्मा कास्य पदक प्राप्त गरेकी थिइन् । नेपाली राष्ट्रिय फुटबल टोलीले पल्सर स्पोर्ट्स अवार्ड २०७७ मा वर्षको उत्कृष्ट टोलीको अवार्ड जित्यो । यसैगरी डा अजय राणा स्पेसल अवार्ड अन सिन हिरोबाट सम्मानित भए ।

राणा आफ्नो समयका हक्की र फुटबल खेलका अब्बल खेलाडी थिए । सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा सबै खेलाडीको स्वास्थ्य व्यवस्थाको जिम्मेवारी राणाले नै निर्वाह गरेका थिए । धाविका पुष्पा भण्डारीले ‘पफर्मर अफ दी इयर’ अवार्ड हात पारिन् । गत वर्ष पुस २६ गते बङ्गलादेशको ढाकामा सम्पन्न बङ्गबन्धु शेख मुजिव ढाका म्याराथनमा भण्डारीले स्वर्ण पदक जितेकी थिइन् ।

उनले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत म्याराथनमा रजत पदक प्राप्त गरेकी थिइन् । यस्तै धनगढीमा २०६८ सालमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुदमा उनले म्याराथनतर्फ रजत पदक प्राप्त गरेकी थिइन् । विसं २०६९ सालमा लुम्बिनी च्याम्पियनशिप म्याराथनमा स्वर्ण जितेपछि भण्डारी एपिएफ क्लबमा आबद्ध भएकी थिइन् ।

त्यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट स्व शरद्चन्द्र शाहलाई मरणोपरान्त सम्मान गरियो भने पारा एथलिट अफ दी इयरको उपाधि सरिता थुलुङलाई प्रदान गरियो । उत्कृष्ट प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमाटाले प्राप्त गरे । एसियाली खेलकुद पत्रकार अवार्ड सताम अल सेहलीललाई प्रदान गरियो । दशक उत्कृष्ट प्रशिक्षक, पुरुष, महिला खेलाडी र पिपुल च्वाइसका विजेताले बजाब पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे ।
 

ताजा खबर