नेपालद्वारा पपुवा न्यूगिनी पराजित

२०७८ चैत ८ मंगलबार २०:३४:०० मा प्रकाशित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–दुईअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गरेको हो । खेलमा १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

नेपालको जितमा आरिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए । उनले १०२ बल खेल्दै चार चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ५० रनको योगदान दिए भने रोहितकुमार पौडेलले ४४ रन जोडे । बलिङतर्फ पपुवा न्यूगिनीका चाल्र्स अमिनीले दुई र काबुआ मोरेले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन जोडेको थियो । उसका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे भने लेगा सियाकाले २० तथा सेसे वाउले १९ रन जोडे ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई÷दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा पपुवा न्यूगिनीलाई दुई विकेटले हराएको थियो । यस्तै युएई विरुद्धको पहिलो र तेस्रो खेलमा नेपाल क्रमशः ४८ रन र ९९ रनले पराजित भएको थियो ।
 

ताजा खबर