अमेरिका र फिलिपिन्सले संयुक्त सैन्य अभ्यास गर्ने

२०७८ चैत ८ मंगलबार १८:३८:०० मा प्रकाशित

फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले अर्को हप्ता द्वीपसमूह राष्ट्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास शुरु गर्न लागेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

बढ्दो चिनियाँ प्रभाव सामु आफ्नो बलियो रक्षा सम्बन्ध देखाउँने अभिप्रायले सो अभ्यास गर्न लागिएको विश्लेषण गरिएको छ । लगभग ९ हजार फिलिपिनो र अमेरिकी सैनिकहरूले लुजोनको मुख्य टापुमा १२ दिनसम्म युद्धाभ्यासमा भाग लिनेछन् । मार्च २८ मा शुरु हुने उक्त अभ्यासमा सामुद्रिक सुरक्षा, लाइभ फायर तालिम, आतङ्कवाद प्रतिरोध, मानवीय सहायता र विपद् राहतलगायत अन्य कुराहरू समेटिने अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

“(दुबै पक्षले) साझा रणनीति, प्रविधि र प्रक्रियाहरू विस्तार र अगाडि बढाउन सँगै तालिम दिनेछन् जसले हाम्रो प्रतिक्रिया क्षमता र वास्तविक–विश्व चुनौतीहरूको लागि तत्परतालाई बलियो बनाउँछ,“ अमेरिकी तेस्रो समुद्री डिभिजनका कमाण्डर मेजर जनरल जे बार्गेरोनले बताएका छन् ।

लामो समयका सहयोगीहरू बीचको हालैका युद्धाभ्यासहरू दक्षिण चीन सागरमा सम्भावित द्वन्द्वमा केन्द्रित देखिन्छन् । चीनले विवादित चट्टानहरूमा कृत्रिम टापुहरू निर्माण गरेर र तिनीहरूमा हतियारहरू स्थापना गरेर आफ्नो अडानलाई बलियो बनाएको आरोप लाग्ने गरेको छ ।

फिलिपिन्स, ब्रुनाई, मलेशिया, ताइवान र भियतनामले पनि पानीमाथि दावी गर्दै आएका छन् । फिलिपिन्सले चिनियाँ नौसेनाको जहाजलाई आफ्नो द्वीपसमूहको पानीमा अवैध रूपमा तरिरहेको दाबी गरेपछि मनिला र बेइजिङ बीचको तनाव गत हप्ता बढेको थियो ।

यो अभ्यास युक्रेनमा रुसी आक्रमणको बीचमा हुन लागेको छ जहाँ अमेरिका र यसका सहयोगीहरूले कीभलाई रक्षात्मक हतियारहरू उपलब्ध गराउँदै आएका छन् र मस्कोमाथि आर्थिक प्रतिबन्ध पनि लगाएका छन् ।

ताजा खबर