पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, कति होला सजाय ?

२०७८ चैत ८ मंगलबार १४:३९:०० मा प्रकाशित

दमौली । किशोरी बलात्कारको आरोपमा नायक पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ। उनीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

शाहलाई हिरासतमा राखेको २१ दिनपछि तनहुँ प्रहरीले सोमबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अध्ययनपछि कार्यालयले मुद्दा दर्ता गरेको हो । उनलाई १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ । यस्तै पलका सहयोगी कृष्ण जोशीलाई आधा सजायको मागदाबी गरिएको छ ।

जबर्जस्ती करणी गरेको आरोपमा ती किशोरीका बाबुले पलविरुद्ध जाहेरी दिएपछि उनले गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। प्रहरीले जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर उनीविरुद्धको कसुरमा २१ दिन अनुसन्धान गरेको थियो। पीडितले पूर्वी नवलपरासीको गैँडाकोटमा पनि शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । गैँडाकोट प्रहरीले भने गत बिहीबार अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

ताजा खबर