केपी ओलीलाई स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बुझाउन बाँकी छः घनश्याम भुसाल

२०७८ चैत ८ मंगलबार १३:१९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको आधार तयार पार्नुपर्ने बताएका छन् । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा भुसालले हालका लागि चुनावी गठबन्धनको वातावरण बनाउने र भविष्यमा वामपन्थी दलहरूबीच एकतामा जानुपर्ने बताएका हुन् ।

उनले कम्युनिष्ट आन्दोलन विभाजित भएको अवस्थामा मात्रै आफ्नो हैसियत देख्ने मानिसहरू वामपन्थी दलहरूबीचको एकताको विरोधमा लागिरहेको पनि बताए । भुसालले संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षपोषण गर्नुसरह भएको पनि बताए ।

उनले भने,’अब पनि संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु हुन्छ । किनकी अदालतले यो संविधान रहुन्जेलसम्म यो कदम गलत भनिसक्यो । जिम्मेवार पार्टी नेकपा एमालेबाट यस्तो काम गर्नुहुँदैन । सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भन्ने हो भने यो संविधान भत्किन सुरु गर्छ ।’

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बुझाउन बाँकी रहेको बताए । उनले भने,‘नेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँलेर हामीले बुझिसकेका छौं । त्यो हाम्रो पार्टीभित्र पनि कमरेड ओलीलाई केही बुझाउनपर्ने बाँकी छ, नत्र भने सबैले बुझेका छन् ।’

पार्टीका नेताहरूबीच विगतमा भए गरेका क्रियाकलापको जिम्मेवारी लिने काम भएमा वामपन्थी एकताबारे सहज हुने उनले बताए । उनले भने, ’माधव नेपाल र प्रचण्डको आँखाबाट हेर्दा ओली कम्युनिस्ट आन्दोलनको खतरनाक तत्व हो भन्ने । ओलीले माधव नेपाल र प्रचण्ड खतरनाक तत्व हुन् भन्ने । बाहिर रहेकाले यी दुवै खतरनाक तत्व हुन् भन्ने, किनकि कम्युनिष्ट कम्युनिष्ट भिडिरहेका छन्।’

 

ताजा खबर