गठबन्धनमा सबैभन्दा ठूलो त्याग माओवादीले गरेको छः प्रचण्ड

२०७८ चैत ८ मंगलबार १२:२०:०० मा प्रकाशित

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने विषय टुंगोमा नपुगेको बताएका छन् । मंगलबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको भएपनि औपचारिक रुपमा नटुंगिएको बताएका हुन् ।

उनले मन्त्रिपरिषद हेरफेर हुँदा माओवादीले अब आफ्नो हैसियतअनुसार पाउनुपर्ने बताए । उनले भने,‘मन्त्रिपरिषद् विस्तार र हेरफेरको कुरा चलेको छ । केही मन्त्रीहरू हेरफेर हुन्छन्, केहीमा नयाँ आउँछन् । माओवादी केन्द्रले आफ्नो हैसियतअनुसार थप मन्त्रालय पाउनुपर्ने दाबी पनि गरेको छ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी बनाएका कारण माओवादी लचिलो हुँदै आएको बताए ।

उनले भने,‘प्रधानमन्त्रीले पनि मेरो पार्टीको महाधिवेशनसम्म हेर्दिनुस् भन्नुभयो । माधवजीले म त भर्खर नयाँ पार्टी बनाएको मलाई दुःख छ भन्नुभयो । सबैभन्दा ठूलो त्याग गठबन्धनमा माओवादीले गरेको छ । हामीले सबैको अप्ठ्यारो बुझ्यौं । अब चाहिँ मन्त्रिपरिषदमा हामीलाई सम्मानजनक हैसियत चाहिन्छ । यो कुरा प्रधानमन्त्रीलाई भनेका छौं । यसमा प्रधानमन्त्री सहमत हुनुहुन्छ।’ उनले चुनावी तालमेलबारे गठबन्धनको नेतृत्व तहमा कुनै तिक्तता नरहेको बताए ।

 

ताजा खबर