रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी

२०७८ चैत ८ मंगलबार ०७:५६:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने बताएका छन् ।

त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनले बताए । बितेका २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन ’भित्तामा पुगेको’ भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडनले बताएका हुन् ।

उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए । यस्ता दाबीले बरु रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको प्रस्ट सङ्केत गर्ने उनले बताए ।

अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने पनि बताए । त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले हरकिसिमको यत्न गर्ने पनि उनले बताए ।

आर्थिक प्रतिबन्धहरू लगाएको बदलामा रुसले त्यसो गर्न सक्ने उनको भनाइ थियो । साथै उनले अमेरिकी कम्पनीहरूलाई उनीहरूका डिजिटल सुरक्षा प्रबन्ध कसिकसाउ बनाउन पनि आह्वान गरे । यसअघि बाइडनले पुटिनलाई युद्ध अपराधी भनेपश्चात् वाशिङ्टनसँगको सम्बन्ध पूरै विच्छेदको अवस्थामा पुगेको मस्कोले चेतावनी दिएको थियो।

ताजा खबर