लेटाङ घटनाका दोषीमाथि कारबाही हुन्छः प्रधानमन्त्री

२०७८ चैत ७ सोमबार १२:२७:०० मा प्रकाशित

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको महिला प्रहरीको हत्यामा सलग्न दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले प्रहरी हत्याका दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यालयकी १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित बनेका स्थानीय र प्रहरीबीच गएराति भएको झडपमा एक महिला प्रहरीको ज्यान गएको थियो। आन्दोलनमा उत्रिएका प्रदर्शनकारीको अन्धाधुन्ध आक्रमणमा परी आइतबार राति प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।

स्थानीय आन्दोलनकारीको आक्रमणपछि भएको झडपमा २८ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएका स्थानीय प्रशासनले जनाएको छ । अहिले घटनास्थल आसपासमा कफ्र्यू लगाइएको छ । लेटाङमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको जनाइएको छ ।

ताजा खबर