पाल्पाको रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल हुने

२०७८ चैत ७ सोमबार ०९:४८:०० मा प्रकाशित

काठमाडौं । पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा प्रतियोगिता हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको प्रतियोगितामा सात प्रदेशबाट एक/एक, तीन विभागीय र स्थानीयसहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

‘बिच’ भलिबल प्रतियोगिताको सद्भावनादूतमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धीरेन शाक्यलाई मनोनीत गरिएको छ । दुवै जना पाल्पा निवासी हुनुहुन्छ । प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै बिच भलिबलको ‘हव’का रुपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ ।

‘बिच’ भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो । नेपालमा रहेका ६ हजारभन्दा बढी नदी र खोला किनारलाई बिच भलिबलको पूर्वाधार अर्थात् मैदानकारुपमा प्रयोग गर्ने सकिन्छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले पाल्पाको रानीमहललाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताए ।

प्रतियोगिता आयोजक समितिका पदाधिकारीसँगको छलफलमा उनले भने, “नेपालका अधिकांश नदी र खोला किनारामा यस खेलको प्रशस्त सम्भावना छ ।” पाल्पाली उत्साहित अभियन्ताले सुन्दर मनोरम रानीमहलको पर्यटकीय प्रवद्र्धनसँगै बिच भलिबलको ‘हव’ कारुपमा विकास गर्नुपर्छ भन्ने कुरा उठाउँदै आएका बिच भलिबल सङ्घका अध्यक्ष यकेन्द्र कुँवरले बताए ।

प्रतियोगितामा पुरस्कारलगायत व्यस्थापनका लागि ३० लाख खर्च लाग्ने अनुमान गरिको छ । मुलुकमा बिच भलिबलको विकास र विस्तार गर्ने सिलसिलामा खेलाडीलाई विगतमा वैदेशिक प्रशिक्षणमा पठाइएको र दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले कास्य पदकसमेत जितेको इतिहास छ ।

यसअघि सन् २०११ मा चितवनमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । नेपालमा ठूला तारे होटललगायतका क्षेत्रमा बिच भलिबल खेल्ने गरेको पाइन्छ । विसं २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गरिएको थियो ।

बिच भलिबल कास्कीको पोखरामा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा भाग लिएको थियो । पुरुषतर्फ नेपालसहित श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश र माल्दिभस तथा महिलातर्फ नेपालसहित श्रीलङ्का र माल्दिभस सहभागी थिए ।

नेपालले महिलातर्फ कास्य पदक प्राप्त गरेको थियो । उक्त पदक विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले प्राप्त गरेको थियो । पुरुष टोली भने लिग चरणबाटै बाहिरिएको थियो ।

आयोजक संस्थाकी अध्यक्ष एवं नेपाल भलिबल सङ्घकी उपाध्यक्ष निरोज मास्केले बिच भलिबलमा न्यून खर्चमा मुलुकले चाँडो अन्तर्राष्ट्रिय पदक प्राप्त गर्नसक्ने सम्भावना रहेको बताइन् ।

प्रतियोगिताका लागि रानीमहलमा अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान र निर्णायक मण्डल रहने उनले जानकारी दिइन् । नायक धिरेन शाक्यले खेलको माध्यमबाट पर्यटकीय क्षेत्रका रुपमा रानीमहल र पाल्पालाई परिचित गराउने उद्देश्यले बिच भलिबल आयोजना गर्न लागिएको बताए ।

ताजा खबर