युक्रेन-रुस वार्ता विफल भए तेस्रो विश्वयुद्ध हुने जेलेन्स्कीको चेतावनी

२०७८ चैत ७ सोमबार ०९:२४:०० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्य गराउने वार्ता विफल भए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन् । सीएनएन टेलिभिजनसँग कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको बताए । जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ता भएको कुरामा आफ्नो विश्वास रहेको पनि उनले उल्लेख गरेका छन् ।

रुससमर्थित पृथकतावादीको पकडमा रहेका क्षेत्रहरूलाई युक्रेनले स्वतन्त्र भएको मान्यता दिनुपर्ने कुनै सम्झौतामा सहमति जनाउन नसक्ने उनले प्रष्ट पारे । यसअघि बिहीबार रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग सम्झौताका लागि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनमार्फत् टेलिफोन वार्ताका क्रममा आफ्ना मागहरू अघि सारेका थिए ।

एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन् । उनका अनुसार शुरूका चारवटा रुसी माग पूरा गर्न युक्रेनलाई धेरै गाह्रो नहुन सक्छ । एउटा प्रमुख माग युक्रेन तटस्थ बस्नुपर्ने र नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू धेरैजसो माग रुसले जितेको जस्तो देखाउने खालका छन् ।

युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस् । युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवं प्रभावको अन्त्य हुनुपर्ने माग छ । यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए । तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।

नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ । दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले प्रत्यक्ष वार्ता गर्नुपर्ने हुन्छ । जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।

ताजा खबर