झडपमा प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यू

२०७८ चैत ७ सोमबार ०८:२०:०० मा प्रकाशित

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा  आज बिहान ७ बजेदेखि कर्फ्यू  लगाएको छ । एक महिला प्रहरीको ज्यान जानेगरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले आज बिहान सात बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि प्रशासनले कर्फ्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले लेटाङको वडा नम्बर ३ र ४ को पश्चिम क्षेत्रको गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिए । झडपमा एक महिला प्रहरी जवानको मृत्यु हुनुका साथै करिब २८ जना घाइते भएको उनले बताए । तीमध्ये केही सामान्य र केही गम्भीर घाइते रहेको प्रजिअ दाहालले बताए ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ बर्षिया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

शुक्रबार होली खेल्ने क्रममा खेरुवास्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।

ताजा खबर