जापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर लगानी गर्ने

२०७८ चैत ६ आइतबार २२:०४:०० मा प्रकाशित

जापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात् ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको सम्झौता भएको भारतले जनाएको छ । जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा यो सम्झौता भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले आफू र आफ्ना जापानी समकक्षी किशिदाबीचको भेटवार्ता बृहत् र उपलब्धीमूलक भएको बताएका छन् । मोदीले ट्वीटर सन्देशमा भनेका छन्, “प्रधानमन्त्री किशिदासँगको वार्ता अर्थपूर्ण तथा उपलब्धीमूलक रहेको छ । उहाँ सधैँ भारतको असल मित्र हुनुहुन्छ । हामीबीच विगत केही बर्षमा भएका छलफल दुबै मुलुकको प्रगतिका कारक भएका छन् । जापानी प्रधानमन्त्रीसँग दुईपक्षीय सम्बन्ध बिस्तारका साथै क्षेत्रीय तथा अन्तराष्ट्रिय बिषयहरूमा छलफल भएको छ ।”

दुई देशबीच आपसी सहयोग सम्बन्धि ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र कासिदाबीच रुस–युक्रेन युद्ध र एशिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका विषयमा समेत छलफल भएको छ । जापानले पछिल्लो समय भारतमा लगानी बढाउँदै आएको छ ।

भारतको आर्थिक राजधानी मुम्बइदेखि औद्योगिक शहर अहमदावादसम्म बुलेट रेल बनाउने आयोजनामा पनि जापानले लगानी गरिरहेको छ । जापानले सन् २०१४ देखि ०१९ सम्म भारतमा २९ अर्ब डलर लगानीका आयोजना सम्पन्न गरिसकेको छ । एशिया प्रशान्त क्षेत्रका दुई ठूला अर्थतन्त्रबीचको नयाँ आर्थिक सम्झौताले यस क्षेत्रको स्थायित्वमा सघाउँ पुर्याउने विश्वास समेत गरिएको छ ।

ताजा खबर