विद्युत नियमन आयोगका अध्यक्षलाई नहटाउन सर्वोच्चको आदेश

२०७८ चैत ६ आइतबार १९:१९:०० मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

गत फागुन १७ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगका अध्यक्ष सिंह तथा सदस्यहरु रामेश्वर प्रसाद कलवार र भागिरथी ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय विरुद्ध सिंहले गत शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

आइतबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारलाई कारण देखाउ आदेशसहित आयोगका पदाधिकारी हटाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

गत पुसमा मन्त्रिपरिषद बैठकले आयोगका पदाधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो भने छानबिन समितिले उनीहरुमा कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पूरा नगरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

ताजा खबर