नासाले सार्वजनिक गर्यो चन्द्रमामा मानिस पुर्याउने विशाल रकेट

२०७८ चैत ६ आइतबार १८:१०:०० मा प्रकाशित

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानवसहित चन्द्रमामा पठाउन तयार गरेको विशाल रकेट प्रक्षेपण केन्द्रमा पुर्याएको छ । इञ्जिन जाँचका लागि स्पेस लञ्च सिस्टम एसएलएस भनिने उक्त यान फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्याड ३९बी मा लगिएको हो । जाँच सफल भए यो रकेट चन्द्रमामा मानवरहित परीक्षण क्याप्सुल लिएर जाने कामका लागि तयार हुनेछ ।

तर त्यसका लागि अझै केही महिना लाग्ने छ । यो दशकको अन्त्यतिर अन्तरिक्षयात्रीहरू एसएलएसमा सवार भएर चन्द्रमाको सतहमा पुग्ने आँकलन गरिएको छ । अन्तरिक्षयानलाई प्रक्षेपण केन्द्रमा लगिँदै गरेको दृश्य हेरेपछि नासाका प्रशासक बिल नेल्सनले अन्तरिक्ष अन्वेषणको सुनौलो युगमा प्रवेश गर्न लागेको बताए ।

उनले नासाको आर्टेमिस कार्यक्रमले मङ्गल ग्रहमा मानव पुर्याउने लक्ष्यका लागि फड्को मार्ने बताए। एक सय मिटर अग्लो भीमकाय एसएलएस १९६० र १९७० का एपोलो यानहरूभन्दा शक्तिशाली यान हो । अन्तरिक्षयात्रीहरूलाई पृथ्वीबाट टाढासम्म लैजान मात्र नभएर उनीहरूलाई लामो समयसम्म आवश्यक पर्न सक्ने उपकरण समेत यसले बोक्न सक्छ ।

केनेडीको भिइकल एसेम्ब्ली बिल्डिङबाट पहिलो पटक बिहीवार बाहिर निकालिएको थियो । यसलाई जडान कक्षबाट फ्लोरिडाको समय अनुसार साँझ ५ः४७ बजे बाहिर निकालिएको थियो ।

मोबाइल लञ्चर भनिने ठूलो संरचनासहित यान बाहिर निकालिएको थियो । आफैँमा १२० मिटर अग्लो र ५,००० टन गह्रौँ यो संरचनाले यसअघि अरू अन्तरिक्ष यानहरू बोकेको थियो । यान बोकेको यो साधनले एक घण्टामा एक किलोमिटर दूरी मात्र तय गर्न सक्छ।

ताजा खबर