निर्वाचनमा पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्छौंः अध्यक्ष ओली

२०७८ चैत ६ आइतबार १५:४९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमार्फत एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने चेतावनी दिएका छन् ।

आइतबार इलामको फिक्कलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा एमाले अत्यधिक बहुमतका साथ विजयी हुने बताएका हुन् ।

उनले भने, ‘ओइलिएका पात झर्न सक्छन् । एमालेको सूर्य झन् चम्किलो हुन्छ। देशभरीबाट पाँच दललाई एउटै कुचोले बढार्ने छ । एमालेबाट दुईचार जनाले छोडेर गए केही हुँदैन । हामी चुनाव पर्खिरहेका छौं।’ अध्यक्ष ओलीले कम्युनिष्टको बर्को ओढेका अन्तरेजन्तरे एमालेविरुद्ध लागेको आरोप लगाए ।

उनले भने,‘एमालेले लगाइदिएको मेयरको फुली बोकेर, संसदको फूली बोकेर एमालेविरुद्ध लाग्ने ? आउँदो निर्वाचनमा जवाफ दिनुपर्छ। गुन बिर्सिने यस्ता तत्वहरुलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ ।’ अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनका क्रममा मनोनयनका लागि दुई दिन छुट्ट्याइएकोमा आपत्ति जनाए ।

उनले भने,‘मनोनयनका लागि संसारमा कहीँ पनि दुई दिन राखिएको हुँदैन। पाँच दलीय गठबन्धनमा खटपट पर्न सक्छ, एक दिनमा मिलाउन सकिँदैन, त्यसैले दुई दिन राखिएको हो।’ अध्यक्ष ओलीले निर्वाचन आयोगले कांग्रेसको पक्षमा मात्र काम गरिरहेको आरोपसमेत लगाए। उनले भने,‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ?’

ताजा खबर