माओवादी पार्टी पहिलो बन्ने प्रचण्डको दाबी

२०७८ चैत ६ आइतबार ०९:३७:०० मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।

आइतबार बिहान पोखरामा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी पहिलो बन्ने सम्भानातिर अघि बढेको बताएका हुन् । उनले सविधान बचाउने, शान्ति प्रक्रिया पूरा गर्ने र जनताका जनजीविका हेर्न माओवादी नै भएकाले यो शक्ति बलियो बन्नुपर्ने बताए । उनले देशैभरी माओवादीप्रति सकारात्मक माहोल बन्दै गएको बताए ।

उनले भने,‘ हिजो सिन्धुलीमै पनि हेर्नुस् माओवादीलाई जनताको साथ । त्यो उभार त्यसै आएको होइन । साथीहरुले एक नम्बर बनाउने प्रण गर्नुभएको छ । मधेसका विभिन्न जिल्लामा गएँ । माओवादीप्रति हजारौंको प्रवेश र आकर्षण छ। माओवादी नै परिवर्तनको सम्वाहक हो भन्ने परेको छ।’ उनले माओवादीप्रति आकर्षण बढिरहेको भन्दै अब अरु दल चुनावी तालमेल गर्न आउने दाबी गरे ।

उनले भने, ‘अरु पार्टी हामीसँग तालमेल गर्न आउने हो। हामी जाने होइन। यो परिस्थिति बन्दैछ।’ प्रचण्डले आफ्नै बलमा चुनाव लड्ने र गठबनधनलाई पनि अगाडि बढाउने भन्दै मूल संस्थापन नेतृत्व मिलेर जाने पक्षमा रहेको बताए ।

ताजा खबर