अघिल्ला निर्वाचनमा भाग नलिएका दललाई भाग लिन गृहमन्त्रीको आग्रह

२०७८ चैत ५ शनिबार २१:११:०० मा प्रकाशित

पाल्पा । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसकेका दलहरुलाई पनि चुनाव चिह्न दिनुपर्ने बताएका छन् । शनिबार पाल्पाको रामपुर नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै गृहमन्त्रीले ससाना दललाई पनि चुनाव चिन्ह दिनुपर्ने मान्यता सरकारले राखेको स्पष्ट पारे ।

सानाठूला सबै दलले स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्नेमा उनले जोड दिए । साना दलको अस्तित्व रक्षाका लागि निर्वाचनमा सहभागिता अत्यावश्यक रहेको उनको भनाइ थियो । चुनावमा सहभागिता जनाए मात्र साना दलहरूले पनि देशप्रति समर्पित हुने अवसर पाउने उनले बताए ।

स्थानीय तहको निर्वाचन विकास निर्माणको माध्यम मात्र नभएर जनतालाई हकअधिकार प्रदान गर्ने सशक्त माध्यम बनोस् भन्ने सरकारको चाहना रहेको उनले स्पष्ट पारे ।

गृहमन्त्री खाँणले अघिल्ला निर्वाचनमा भाग नलिएकाहरुलाई पनि भाग लिन आग्रह गरे । ‘स्थानीय तहको निर्वाचन लोकतान्त्रिक मूल्यमान्यतालाई सबल बनाउने आधारस्तम्भ बन्नुपर्छ। जनताको हकअधिकारलाई प्रत्याभूत गराउन पनि सबै दलले निर्वाचनमा भाग लिनुहोस्। सरकारले यही चाहेको छ,’ उनले भने।

ताजा खबर