गठबन्धनलाई निर्वाचनमार्फत जनताको आँगनमा पछार्ने ओलीको चेतावनी

२०७८ चैत ५ शनिबार ११:०१:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई निर्वाचनमार्फत जनताको आँगनमा पछार्ने चेतावनी दिएका छन् ।

शनिबार नेकपा एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतले बनाइदिएको गठबन्धनलाई निर्वाचनमार्फत ठेगान लगाउने चेतावनी दिएका हुन् । उनले यो सरकार जनादेशबाट नभई परामदेशबाट बनेकाले उनीहरुलाई जनताको बीचमा जाने अधिकार नभएको बताए ।

उनले भने, ‘यो अदालतले बनाएको गठबन्धन हो। यसलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । उनीहरुलाई यस्तो तयारी गरौं कि एमालेको तयारी देखेर अहिलेबाटै निद्रा लाग्न छाडोस् । कांग्रेसका नेताहरु प्रचण्ड एण्ड कम्पनीहरु जनाताबीचमा कसरी उभिएका होलान् ? कस्तो लाज नलागेको होला । हामी हुन्थ्यौं भने त लाजले घरबाटै निस्कन्थ्यौं होला ।’

अध्यक्ष ओलीले आउँदो निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गरे । गठबन्धन भन्ने मनोवैज्ञानिक त्रास मात्र भएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न नसक्ने बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले टाँसिदिएको जुँगामा ताउ लगाउन थालेको उल्लेख गर्दे त्यो पार्टी ध्वस्त हुने दाबी गरे ।

उनले भने,‘त्यो ध्वस्त हुन्छ। हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ । कम्युनिष्ट सरकारलाई भोट दिने बेलामा होटलमा बसेर चुप लागेर बसे । देउवालाई प्रधानमन्त्री पछिल्लो गेटबाट गएर लुसुलुसु भोट हाले । यस्तो पनि हुन्छ राजनीति ? एमालेले लाइदिएको बिल्ला फुकाल्नु पर्दैन ? यो कुरा जनताको बीचमा लैजानुपर्छ । यीनीहरु कम्युनिष्ट पार्टी होइनन् भन्ने कुरा जनतामा लैजानुपर्छ ।’ उनले कांग्रेसलाई अबको निर्वाचनमा १३ सिटमा झार्नेगरी एमालेले तयारी गर्नुपर्ने बताए ।

ताजा खबर