गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

२०७८ चैत ४ शुक्रबार १८:३०:०० मा प्रकाशित

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि पूर्णरुपमा खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

गद्दी बैठक पूर्णरुपमा खोल्ने तयारी पूरा गरेर केही दिनमै हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट यससम्बन्धी निर्णय गर्न लागिएको हो ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनस्र्थापना एवं सशस्त्र द्वन्द्वकालका दस्तावेज र पृथ्वीनारायण शाहकालीन हातहतियार प्रदर्शनमा राखिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो ।

भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न कार्यालयले सम्पूर्ण तयारी गरेको हो । पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो ।

राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रुपमा उपयोग हुने थालेको थियो । गद्दीबैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो ।

गद्दी बैठक सर्वसाधारणका लागि खुला गरेपछि हनुमानढोका दरबार क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ । हाल दैनिक आन्तरिक र बाह्य गरी करिब ३०० पर्यटकले टिकट काटेर दरबार क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक महत्वका स्थलको अवलोकन गर्छन् ।

ताजा खबर